बराहक्षेत्रको प्रकाशपुरमा पहिलोपटक रात्रिकालीन फुटबल प्रतियोगिता हुँदै

न्युजलय २२ भदौ २०८३, सोमबार १२:४३ मा प्रकाशित

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा पहिलोपटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रकाशपुर युवा जमातको आयोजनामा ‘प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप–२०८३’ सञ्चालन हुन लागेको हो।


विजया दशमीको अवसर पारेर आगामी असोज २३ गतेदेखि ३१ गतेसम्म प्रकाश माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।


प्रकाशपुर युवा जमातका दिवंगत संस्थापक अध्यक्ष प्रदीप राई (वेदकुमार) को स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगितामा आठ उत्कृष्ट टिमको सहभागिता रहनेछ।


नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल गरी जम्मा ७ खेल हुनेछन्।


प्रतियोगिताका विजेता तथा उपविजेताका साथै उत्कृष्ट खेलाडीहरूलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संस्थाका सचिव रमेश कार्कीले जानकारी दिए।


उनका अनुसार प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।


त्यस्तै, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई २० हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डरलाई २० हजार रुपैयाँ र म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।


प्रतियोगिताको कुल नगद पुरस्कार राशि मात्रै ४ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ। प्रतियोगिता सम्पन्न गर्न अनुमानित ४९ लाख २० हजार ३ सय ५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।


संस्थाका अध्यक्ष मनिष मगरका अनुसार प्राविधिक सहयोगी संस्था प्रकाशपुर फुटबल क्लबको संयोजनमा प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ।