इटहरी । कोसी प्रदेश ट्राफिक प्रहरीको पहलमा इटहरीको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने यात्रुको यात्रालाई सहज बनाउन यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यात्रु सहायता कक्ष उद्घाटन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले टिकट काउन्टरबाट हुने मनोमानी रोक्न र मनपरी खोलिएको अवैध टिकट काउन्टर बन्द गराउन प्रहरीलाई निर्देशन दिनुभयो ।
यात्राका क्रममा यात्रुले भोग्नुपरेका समस्या तथा कठिनाइका विषयमा सहजीकरण गर्ने उद्देश्यले स्थापना गरिएको यात्रु सहायता कक्षबाट ट्राफिक तथा यातायात सम्बन्धी सूचना एवम् जानकारी लिने दिने, चाडपर्वका नाममा हुने विकृति र अपराधको न्यूनीकरणमा समेत सहयोग पुग्ने कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए ।