रोजगारी खोज्ने युवाहरूका लागि यूएईले ६० दिने भिसा जारी गर्दै

न्युजलय २७ भदौ २०७९, सोमबार ०१:१० मा प्रकाशित

काठमाडौं । रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने भएको छ । यूएई सरकारले रोजगारीका अवसरहरू खोजी गरिरहेका विदेशी तथा स्वदेशीका हकमा प्रवेश अनुमति दिने गरी यो भिसाको डिजाइन गरेको हो ।


गल्फ न्यूजका अनुसार यूएईमा जागिर खोज्ने गरी पाइने भिसामा कोही पनि स्पोन्सर वा होस्ट आवश्यक पर्दैन । यो भिसाले मल्टिपल इन्ट्रीको विकल्प दिनेछ । यस्तो भिसा ६० दिन अर्थात् दुई महिना अवधिको हुने यूएई सरकारले जनाएको छ । यो अवधिमा आफूले चाहेको रोजगारी खोजिसक्नुपर्नेछ । 


यूएई सरकारले यस भिसामार्फत दक्ष र व्यावसायिक युवाहरूलाई लक्षित गरेको छ । आउँदो अक्टोबर ३ देखि यो भिसा कार्यान्वयनमा आउनेछ । 


भिसाको समयावधि सकिएमा वा रद्द गरिएमा यूएई छोड्न ६ महिनाको समयावधि दिइनेछ । यसअघि सामान्यतया भिसा रद्द भएको वा भिसाको म्याद गुज्रिएको एक महिनाभित्रमा यूएई छोड्नुपर्ने नियम थियो ।


यो अवधिमा यूएईमा रहेर आफूले चाहेअनुसारको काम खोज्न सकिन्छ । यो भिसाका लागि आवेदन कसरी दिने र के कस्ता कागजात चाहिनेलगायतका विवरण भने हाल सार्वजनिक नगरिएको बताइएको छ ।