काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिवार राति हात्तीको आक्रमणबाट आमा २१ वर्षीया अशिका बोटे र उनका छोरा ४ वर्षीया भरत बोटेको मृत्यु भएको हो ।
हात्तीले घरभित्र सुतिरहेको बेला आशिका र ४ वर्षीया छोरा भरतमाथि आक्रमण गरेको थियो । हात्तीको गम्भीर प्रहारबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकोृ छ ।
घटनाका क्रममा हात्ती धपाउन खोज्दा थप क्षति भएको छ । आशिका श्रीमान पूर्ण बोटेले हात्तीलाई भगाउने प्रयासमा आगो बाल्दा आफ्नै कच्ची घरमा आगलागी भएको थियो ।
घटनाको जानकारी पाउनासाथ नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । सुरक्षाकर्मी र स्थानीयको प्रयासमा घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।