उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मरुवामा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइते हुनेहरूमा जिप चालक उदयपुरको कटारी नगरपालिका–११ बस्ने २९ वर्षीय नृपबहादुर खड्का, झापाको बिर्तामोड नगरपालिका–६ बस्ने अन्दाजी ३७ की मेनुका मगर, उनका छोरा १४ वर्षीय रेहान भुजेल र छोरी ७ वर्षीया प्रिन्सिका भुजेल रहेका छन्।
यसैगरी मकवानपुरको हेटौँडा –५ बस्ने १६ वर्षीया तेन्जु लामा, उदयपुरको कटारी नगरपालिका–२ बस्ने ७१ वर्षीय रामबहादुर मगर, उनकी छोरी ३५ वर्षीया लिसना मगर, सोही ठाउँ बस्ने ६० वर्षीया गोमा श्रेष्ठ, कटारी–५ बस्ने ३९ वर्षीया अम्बिका दाहाल र उनका छोरा १० वर्षीय दीक्षित दाहाल घाइते भएका छन्।
साथै, कटारी–११ बस्ने २१ वर्षीया निर्मला राउत, सोही ठाउँ बस्ने २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु, महोत्तरीको गौशाला नगरपालिका–१ बस्ने ३५ वर्षीया कविता रेग्मी तथा सिन्धुलीको दुधौली नगरपालिका–११ बस्ने प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेल पनि दुर्घटनामा परेका छन्।
दुर्घटनामा घाइते भएकाहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ भने उदयपुरको कटारी नगरपालिका–२ बस्ने ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
जिप चालक सामान्य घाइते भएकाले उपचारपश्चात् उनलाई नियन्त्रणमा लिई दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।