विराटनगर । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् ।
तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएका छन् ।
कोशी प्रदेशको १४ जिल्लामै डेङ्गु फैलिएको छ । मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ ।
गर्मी र बर्खायाममा फैलिने डेङ्गुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ ।
साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, सङ्खुवासभा आठ सय ६७, ओखलढुङ्गा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेङ्गुका बिरामी फेला परेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेङ्गुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेङ्गुका बिरामीमा देखिन्छन् ।