विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९७७ मत खसेको छ ।
विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनका नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भएको थियो । तर, नेताहरूबीच सहमति नहुँदा मतदानमा जानू परेको हो ।
अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । ९९७ जना मतदाता रहेको अधिवेशनमा २० जना प्रतिनिधि मतदानमा अनुपस्थित थिए । गएराती भएको मतदानको मत गणना आज दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ ।
उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ । चारदिन देखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेको एमालेका कार्यकर्ता अब चुनावको परिणामको प्रतिक्षामा छन् ।