इटहरी । इटहरीलाई आधारभूमि बनाएर सिर्जना गरिएको मौलिक तीज गीत ‘कुरा बुझेँ बरी लै’ सार्वजनिक गरिएको छ । न्युज भिजन प्रालि र सुनाखरी सङ्गीतालय इटहरीको आयोजनामा शुक्रबार साँझ पत्रकार भेटघाट गरी गीत सार्वजनिक गरिएको हो ।
‘भदौरे झरीमा रुझेँ बरी लै, अब त कुरा बुझेँ बरी लै’ बोलको गीतमा दुर्गा पराजुलीको शब्द तथा सङ्गीत रहेको छ । गीतको सहजीकरण पनि पराजुलीले नै गरेका छन् । गीतमा गायिका ऋचा काफ्लेको स्वर रहेको छ भने निर्देशन नगेन्द्र राईले गरेका छन् ।
न्युज भिजन प्रालिका सञ्चालक विक्रम पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा रञ्जिता श्रेष्ठले स्वागत गरेकी थिइन् ।
गायिका ऋचा काफ्लेले गीत आफ्नै जीवन भोगाइ, संघर्ष र अनुभवमा आधारित रहेको बताएकी थिइन् । व्यक्तिगत जीवनका उतारचढाव र संघर्षलाई तीज गीतमार्फत प्रस्तुत गरेको उनले बताएकी थिइन् ।
इटहरीको परिवेशलाई आधार बनाएर तयार गरिएको गीतले तीजको मौलिकता तथा स्थानीय जीवनका अनुभवलाई कलात्मक रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको थियो । गीतमार्फत नेपाली मौलिक तीज संस्कृति र महिलाका जीवन भोगाइलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य रहेको आयोजकको भनाइ थियो ।
कार्यक्रममा पत्रकार सुविद गुरागाईं र हिमाल दाहाल तथा व्यवसायी एवं समाजसेवी राजेश श्रेष्ठले गीतको सफलताको शुभकामना दिएका थिए ।
इटहरीमा सिर्जित मौलिक तीज गीत ‘कुरा बुझेँ बरी लै’ ले दर्शक तथा स्रोतामाझ राम्रो प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका थिए ।