सन् १९४५ मा अमेरिकाले आणविक बम खसालेर जापानको शहरी क्षेत्रको ४० प्रतिशत भुभाग ध्वस्त पारिदिएको थियो । झण्डै सवा दुई लाख मानिसको ज्यान गएको थियो । भोकका कारण एक करोड मानिस मर्ने प्रक्षेपण गरिएको थियो । सरकारले जनतालाई मुसा र सर्प खान सिकाइरहेको थियो । ९० लाख मानिसले घरबार गुमाएका थिए । तर त्यसको २३ वर्षपछि जापान विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र बन्यो ।
कसरी त ?
अमेरिकाले बर्बाद पारेको जापानलाई अमेरिकाले नै उठायो । जापान कम्युनिष्ट हुन्छ कि भन्ने भयले गर्दा अमेरिकाले जापानलाई सहयोग गर्न थाल्यो । त्यसपछि दक्षिण कोरियालाई युद्धमा सहयोग गर्ने क्रममा आवश्यक सामाग्रीहरु उत्पादनको जिम्मा जापानलाई दियो । जापानीहरुले पाएको अवसरलाई दिनरात गरेर सदुपयोग गरे ।
कृषि क्षेत्रलाई रिफर्म गरियो, अन्नको अभाव हट्यो ।
टोयोटा, होन्डा, सोनी, मित्सुविसी, क्यानन, कावासाकी, सेइको जस्ता निजी कम्पनिहरुलाई राज्यले प्रबद्र्धन गर्यो भने ती उद्योगहरुले अन्ततः जापानको निर्यात बढाए र अर्थतन्त्र उकासे ।
जापानले पुर्वाधार बनायो, रेलमा जोड दियो ।
कुल सार्वजनिक खर्चको २१ प्रतिशतसम्म शिक्षामा खर्च गर्यो । त्यो पनि इन्डस्ट्रियल एजुकेसन प्रमोशन ल र साइन्स एजुकेसन प्रमोशन ल नै बनाएर विज्ञान र प्रविधिसम्बन्धि शिक्षालाई प्रबद्र्धन गर्यो ।
जापानीहरुले आफ्नो आम्दानीको २० प्रतिशत हाराहारी पैसा बैंकमा जम्मा गर्थे । जसले गर्दा उद्योगीलाई सजिलै ऋण मिल्थ्यो ।
फलस्वरुप तीस वर्षमा जापानको अर्थतन्त्र ५५ गुणा ठूलो भएको थियो भने प्रतिव्यक्ति आय ४० वर्षमा ११० गुणाभन्दा धेरैले बढेको थियो । जुन त्यो समय संसारकै बढी थियो ।
नेपालको कुरा गर्ने हो भने वितेको ३० वर्षमा नेपालको प्रतिव्यक्ति आय सबैभन्दा तीव्र गतिमा बढेको छ । त्यो पनि जम्मा ५ गुणा ।
जापानलाई हेरेर हामी सिक्न सक्छौ ।
जापानी भाषामा एउटा भनाईको नेपाली अर्थ यस्तो हुन्छ, ७ पटक लड, ८ पटक उठ ।
जापान पटक पटक लड्दै उठ्दै गरेको छ । हाम्रो हालत पनि अहिले त्यस्तै छ । अनि हामीसँग पनि उठ्नुको विकल्प छैन । त्यसको लागि नेपालको माटो सुहाउँदो नीति तथा कार्यक्रम चाहिन्छ ।
#japanandnepal #nepaljapan #NepalFlood #NepalEconomy