सुनसरी । खेलमैदानमै गम्भीर घाइते भएका राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारमा सरकारले बेवास्ता गरेको भन्दै सुनसरीका खेलाडीले विरोध प्रदर्शन गरेका छन् ।
इटहरी उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका सयौं खेलाडीले प्लेकार्डसहित शनिबार दबाबमूलक र्याली निकाल्दै आशिषको उपचारको जिम्मा सरकारले लिनुपर्ने माग गरेका हुन् ।
२०८० फागुन ३ गते चीनमा भएको मैत्रीपूर्ण खेलका क्रममा विपक्षी डिफेन्डरसँग ठोक्किएपछि आशिष मैदानमै ढलेका थिए । खुट्टामा गम्भीर चोट लागेका उनलाई काठमाडौंस्थित बीएन्डबी अस्पतालमा अपरेशन गरिएको थियो भने त्यसपछि चीनको युनान स्पोर्ट्स अस्पताल लगिएको थियो । विशेषज्ञ उपचार आवश्यक परेपछि खुट्टामा मेटल राख्नको लागि उनलाई थाइल्याण्ड लगियो । चार महिनादेखि त्यहाँ उपचाररत उनी निको भएर घर फर्कने अपेक्षामा छन् । तर खर्च अभावले उपचारमा समेत ढिलाइ र समस्या भएको परिवारको गुनासो छ । मेटल प्लेट निकाल्न बाँकी छ भने औलाहरु चलाउन अझै पनि समस्या छ ।
उपचारको अवधि लम्बिँदै जाँदा आर्थिक समस्या थप गम्भीर बनेको छ । एन्फा वा नेपाल सरकारबाट सहयोग निरन्तर पाउन सकेका छैनन् । देशको लागि खेलेका खेलाडीले खेल्दा खेल्दैको अवस्थामा घाइते हुँदा पनि उपचार नपाउनु दुःखद भएको उनका सहकर्मीहरु पनि बताउँछन् ।
एन्फाले भने चीन र थाइल्यान्डसम्मको आशिषको उपचार खर्च व्यहोर्दै आएको तर अहिले अन्तर्राष्ट्रिय निलम्बनका कारण एन्फाको बैंक खाता रोक्का हुादा आर्थिक व्यवस्थापनमा प्राविधिक समस्या आएको जनाएको छ ।