आइटी क्षेत्रमा सक्रिय युवाहरु भन्छन्, 'इटहरीलाई आइटी हब बनाउन सकिन्छ, तर सबैको सहकार्य आवश्यक छ'

न्युजलय २० चैत २०८२, शुक्रबार ०८:१३ मा प्रकाशित

इटहरी । इटहरीमा सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि सबै सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । शुक्रबार इटहरीमा आयोजित आईटी क्षेत्रसँग सम्बन्धित युवाहरुको भेलाले इटहरीलाई आईटी हबका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउँदै त्यसका लागि विद्यालय, स्थानीय तह र आईटी क्षेत्रमा सक्रिय सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।


सन्तोष धमलाको समन्वयमा आयोजित कार्यक्रममा सहभागीहरुले आफ्ना अनुभवका साथै विभिन्न योजना प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवातमा हिमाल दाहालले ‘भोलिको इटहरी’ अभियानबारे जानकारी गराएका थिए । 


आफ्नो धारणा राख्ने क्रममा चन्द्रप्रसाद आचार्यले इटहरीमा आईटी पार्क स्थापना गर्नुपर्ने बताए । उनले दक्ष जनशक्ति पहिचान गरी समन्वय गर्नुपर्नेमा जोड दिँदै सुरुवातमा थोरै अवधिको स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे ।


सरोज सरदारले आईटी क्षेत्रमा क्रियाशील संस्थाहरूबीच आपसी सहकार्य आवश्यक रहेको बताए । यस्तै पर्वत बाँस्तोलाले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने र इटहरीमा आईटी शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय तथा कलेजसँग समन्वय गर्नुपर्ने धारणा राखे ।


यस्तै तेज कार्कीले प्रोफेशनलहरूले मेन्टरशिप प्रदान गर्न तथा कलेजहरूले विद्यार्थीहरूलाई प्रेरित गर्न आवश्यक रहेको बताए । आरबी कट्वालले सुरुवाती चरणमा छोटो अवधिको योजना बनाएर काम गर्नुपर्ने, आईटीसम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालन गर्नुपर्ने र आईटी प्रोफेशनलहरूको प्रोफाइल तयार गरी डाटा संकलन गर्नुपर्ने सुझाव दिए । साथै, स्टार्टअपका लागि बैंक तथा स्थानीय तहसँग समन्वय गरी कर्जा सहजीकरण गर्नुपर्ने, नेटवर्क विस्तार गर्दै लैजानुपर्ने र फ्रीलान्सरहरूका लागि कार्यस्थलको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।


रोहित दाहालले इटहरीका आईटीसम्बद्ध संस्था तथा व्यक्तिहरूले गरेका कामलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सके समग्र इटहरीको छवि राम्रो बन्ने र थप अवसरहरू सिर्जना हुने बताए ।


वसन्त घिमिरेले विद्यालय तहदेखि नै आईटी शिक्षामा जोड दिनुपर्ने, स्थानीय कम्पनीहरूले प्रदान गर्ने सेवाको स्तरीकरण र स्तरवृद्धि गर्नुपर्ने तथा आपसी सहकार्यमार्फत न्यूनतम लागत निर्धारण गर्नुपर्ने धारणा राखे । उनले इटहरीलाई नेपालको “सिलिकन भ्याली” बनाउने लक्ष्य राख्नुपर्ने समेत बताए ।


इटहरी उपमहानगरपालिकामा आईटी क्षेत्रमा कार्यरत सन्दीप बस्तोलाले उपमहानगरपालिकाले प्रयोगमा ल्याएका अधिकांश प्रणालीहरू केन्द्रिकृत रहेको र ती चुस्त–दुरुस्त नहुँदा सेवा प्रवाहमा समस्या देखिएको बताए । उनले नियमित अपडेट गर्ने जनशक्तिको अभाव रहेको, अनुसन्धान तथा विकासका लागि बजेट आवश्यक रहेको बताए । यस्तै सरकारले तोकेको कार्यविधिअनुसार सफ्टवेयर विकास गर्न सके सरकारी निकायले समेत प्रयोगमा ल्याउने बताएका थिए । उनले निजी क्षेत्रले सरकारसँग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।


क्षितिज दाहालले “आईसीटी” भन्दा पनि “विज्ञान, इन्जिनियरिङ तथा प्रविधि” भन्ने अवधारणा अझ उपयुक्त हुने धारणा राख्दै स्पष्ट अवधारणा बनाएर संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।


मन्दीप भट्टराईले इटहरीमा आइटी क्षेत्रमा धेरै युवाहरु सक्रिय रहेको बताउँदै उनीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले आइटी क्षेत्रको योजनाको ड्राफ्ट बनाएर आवश्यक सल्लाह र सुझाव लिँदै अघि बढ्नुपर्ने बताए । 


भेलाले इटहरीमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आवश्यक योजना निर्माण गर्न बसन्त घिमिरे, सन्तोष धमला र सन्दीप बाँस्तोला सम्मिलित समिति गठन गरेको छ। उक्त समितिका सल्लाहकारमा चन्द्र आचार्य, मन्दीप भट्टराई र क्षितिज दाहाल रहेका छन् ।


समितिलाई आवश्यकता अनुसार विस्तार गर्दै विस्तृत कार्ययोजनाको ड्राफ्ट तयार गरी बृहत्त छलफलबाट योजना तयार पारिने भेलाले निर्णय गरेको छ ।