रसुवाको चित्कार र आस्थाको ढोँग

सञ्जय खड्का २१ भदौ २०८३, आइतबार ०४:०८ मा प्रकाशित

सन्दर्भ

रसुवाको भोटेकोशीमा उर्लिएर आएको त्यो विनाशकारी बाढीले केवल जनधनको क्षति मात्र गरेन, हाम्रा सामु अनगिन्ती गम्भीर प्रश्नहरु पनि छोडेर गयो । विभिन्न प्रश्नहरु खडा भएका छन् । राजनीतिक, भूराजनीतिक, आर्थिक, सामाजिक, मनोवैज्ञानिक, वातावरणीयलगायत विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविकै हो । तर आज म अलिक फरक– हाम्रो धर्म र आस्थाको संवेदनशील धरातलमा उभिएर एउटा गम्भीर, मर्मस्पर्शी, असहज तर आवश्यक विषय उठाउने साहस गर्दैछु ।  

हाम्रो समाजमा माता, बाबा, पास्टर, लामा तथा मौलानाज्यूहरूको (सबै होइन, केहि निश्चित व्यक्तिहरु)ले आफूसँग अलौकिक तथा चमात्कारिक शक्ति रहेको दाबी गरिरहेको सुनिन्छ । त्यस्ता अद्भूत तथा अद्धितिय प्रतिभाशालीका चमत्कारिक क्षमताका दाबीहरु विपत्तिको समाधानसम्म पनि सुनिन्छ । 

विपत्तिको समयमा मानिसलाई भ्रम होइन, विश्वसनीय सूचना चाहिन्छ । चमत्कारको आश्वासन होइन; उद्धार, राहत, उपचार र सहायोग चाहिन्छ । विडम्बना, यस्तो अवस्थामा पनि चमात्कारिक दावा गरिएको पाइन्छ । आउनुहोस्, एकछिन त्यस्ता दाबीप्रति एक नजर लगाऔँ । 


भ्रामक दाबीको कालोसूचीः  

• महाविपत्तिको पुर्वअनुमान गर्नसक्ने दाबी

• भूकम्पको पूर्वअनुमान गर्नसक्ने दाबी

• विपत्तिको महाविनाश सुरु भइसकेपछि पनि प्रभाव शून्य परिदिनसक्ने दाबी

• मन्त्रले भूकम्प रोक्ने, यज्ञले बाढी थुन्ने र आशीर्वादले प्रलय नै भगाउने दाबी

• प्रकृतिको शाश्वत नियमलाई नै नियन्त्रण गर्ने ‘ठेक्का’ लिएका भ्रामक दाबी

• ‘मसँग अलौकिक र दैविक शक्ति छ, मेरो साधना, हवन वा अनुष्ठानले विपत्ति टार्छ’ भन्ने दाबी

• भूकम्प, पहिरो र हिमपहिरो रोकिदिने दाबी

• आकासको पानी रोक्ने वा इच्छाअनुसार वर्षा गराउन सक्ने दाबी

• प्राकृतिक विपत्ति आउनै नदिने दाबी 

• महामारीलाई एकै सासमा रोक्ने दाबी

• मृत्यु भइसकेकालाई पनुः जीवित बनाउन सक्ने दाबी 


विनम्र आग्रह 

आदरणीय माता, बाबा, पास्टर, लामा तथा मौलानाज्यूहरू,

अदृश्य चमत्कार साँच्चै हुन्छ कि हुँदैन– मलाई थाहा छैन । तर विपत्तिमा परेका मानिसको पीडा देख्दा, ‘काश ! चमत्कार भइदिए हुन्थ्या’भन्ने आशा जाग्नु मानवीय स्वभाव होला । मेरो मनभित्र पनि त्यस्तै आशा जाग्छ ।

यदि तपाईँहरूसँग दाबी गरिएजस्तै साँच्चै त्यस्तो असाधारण चमत्कार छ भने कृपया देखाइदिनुहोस् । त्यसको प्रयोग मानव जातिकै कल्याण, रक्षा र उत्थानका लागि प्रयोग गर्न सकिन्थ्यो । स्वर्ग खोज्न कतै जानै पर्दैनथ्यो, यहीँ नै स्वर्ग बनाउन सकिन्थ्यो । त्यो शक्ति साँच्चै प्रमाणित भयो भने हाम्रै धर्ती स्वर्ग बन्थ्यो ! 


एउटा टड्कारो प्रश्न 

यहाँ एउटा गम्भीर र टड्कारो प्रश्न उठ्छ—

यदि साँच्चै कसैसँग ब्रह्माण्डकै नियम नै प्रभावित पार्न सक्ने अद्भूत क्षमता छ भने, दाबी गरिएजस्तै अद्भूत शक्ति छ भने, त्यस्ता महान व्यक्तित्व सामाजिक सञ्जालमा भाइरल हुने होडबाजीमा लाग्छन् र ? फलोवरस्, लाइक र कमेन्टको खेती गर्दै प्रचारबाजीमा भुल्छन् र ? पैसामा र्याल काढदै पैसाकै बिस्तारामा सुत्छन र ? के त्यस्तो अलौकिक शक्तिलाई पैसा कमाउने र धन्धा चलाउने साधन बनाउँछन् र ? मानिसको भय, पीडा र विवशताको फाइदा उठाउँदै निकृष्ट कार्य गर्छन् र ?   


आस्थामा पनि विवेक चाहिन्छ 

हरेक क्षेत्र, पेशा र समाजमा असल र खराब दुवै प्रवृत्ति हुन्छन् । धर्म, अध्यात्म र आस्थाको यो पावन क्षेत्रमा पनि ‘हिरा’ र ‘किरा’दुवै थरीका मानिसहरू भित्रिएका छन् । आज नेपाली समाजमा आस्थाका नाममा मौलाएको अन्धविश्वास, माता, बाबा, पास्टर, लामा वा मौलानाका नाममा भइरहेको ढोंग र छलकपट विरुद्ध अब हामी मौन बस्न सक्दैनौँ । 

धर्म, अध्यात्म र आस्थाको पवित्र क्षेत्रमा स्वार्थी र पाखण्डीको प्रवेश रोक्नका लागि प्रश्न गर्नैपर्छ । प्रश्न धर्मविरुद्ध होइन, आस्थाविरुद्ध होइन, कुनै सम्प्रदायविरुद्ध पनि होइन ।

प्रश्न हो– आस्थाको नाममा गरिने अप्रमाणित दाबी, ठगी, शोषण र अन्धविश्वासविरुद्ध । अतः धर्मको पवित्र आवरणभित्र लुकेको अधर्म, भ्रम, शोषण, ठगी र अपारदर्शिताविरुद्ध मेरो प्रश्न निरन्तर उठिरहनेछ ।


एउटा सार्वजनिक चुनौति

यदि तपाईँहरूसँग दाबी गरेजस्तै अद्भूत शक्ति र चमत्कार छ भने, कृपया बन्द कोठा र भाइरल सम्पादित एआई भिडियोमा होइन, सारा दुनियाँका अगाडि आएर त्यसलाई प्रमाणित गरिदिनुहोस् । नेपाल र नेपालीको शिर विश्वसामु उच्च बनाइदिनुहोस् ! विश्वास व्यक्तिगत हुन सक्छ तर, सार्वजनिक दाबीको प्रमाण सार्वजनिक हुनैपर्छ । 

उक्त प्रदर्शनको सहजीकरण गर्ने सम्पूर्ण जिम्मेवारी म लिन तयार छु तर, के तपाईं चमात्कार प्रमाणित गर्न तयार हुनुहुन्छ ? यदि सक्नुहुन्न भने, आस्था तथा धर्मको नाममा व्यापार गर्ने ढोंग र पाखण्ड बन्द गर्नुहोस् ।        

सच्चा, निष्ठावान् र सज्जन धार्मिक तथा आध्यात्मिक गुरुहरूप्रति मेरो शीर सधैँ झुक्छ र सम्मान सधैँ रहिरहनेछ । 

धर्मप्रति मेरो सम्मान छ ।

अध्यात्मप्रति मेरो सम्मान छ ।

आस्थाप्रति मेरो सम्मान छ ।

सम्प्रदायप्रति मेरो सम्मान छ ।


तर, धर्मको नाममा व्यापार गर्ने, मानिसको विवशतामाथि लाभ कमाउने, अप्रमाणित चमत्कारको दाबी गरेर भ्रम फैलाउने ढोंगी र पाखण्डीविरुद्ध मेरो अन्तिम सास रहेसम्म प्रश्न उठिरहनेछ— आवाज गुञ्जिरहनेछ ।   

 

अन्त्यमा,

धर्ममा सेवा गरौँ, व्यापार होइन,

आस्थामा विवेक जगाऔँ, भ्रम होइन,

साम्प्रदायिकता त्यागी मानवता रोजौँ, 

भीडतन्त्रको पछि होइन, धर्मको बाटो हिँडौँ ।