कोभिडपछि घटे रेडियो, टिभी र पत्रिकाका पाठक र स्रोता, अनलाइन मिडिया प्रभावकारी बन्दै

न्युजलय १३ असोज २०७९, बिहिबार १२:५६ मा प्रकाशित

काठमाडौं । कोभिड–१९ पछि रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमको प्रभावकारीता घटेको एक अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार टेलिभिजनका दर्शकमा १२.२ प्रतिशत, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले गिरावट आएको छ । 

 ‘शेयरकाष्ट इनिसिएटिभ नेपाल’ले प्रकाशन गरेको ‘नेपाल मिडिया सर्भे, २०२२’ का अनुसार ४५ दशमलव दुई प्रतिशतले रेडियो, ४८ दशमलव पाँच प्रतिशतले टिभी, ६३ प्रतिशतले मोबाइल र इन्टरनेट, ३० प्रतिशतले अनलाइन न्यूज पोर्टल र १५ प्रतिशतले पत्रपत्रिका प्रयोग गर्ने गरेका छन् । 

सोही संस्थाले सन् २०२० मा गरेको यस्तै प्रकारको अध्ययनको तुलनामा रेडियो, टेलिभिजन र पत्रपत्रिकाका प्रयोगकर्ता घटेका छन् भने मोबाइल र सामाजिक सञ्जालको प्रयोगकर्ता बढेका छन् । 

रेडियो र टेलिभिजन सेटबाट नभई इन्टरनेटको प्रयोगबाट मोबाइलबाटै रेडियो सुन्ने र टेलिभिजन हेर्नेहरू पनि बढिरहेकोसमेत अध्ययनले देखाएको छ ।

यस्तै समाचारको लागि टिभी, रेडियो र पत्रिका आक्कलझुक्कल मात्र प्रयोग गर्ने गरेको पाइएको छ ।