काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धता शुल्क घटाउने भएको छ ।
एउटा सेवा प्रदायकको नम्बरबाट अर्को सेवा प्रदायकको नम्बरमा कल गर्दा लाग्ने शुल्क ४४ पैसा घटाइएको छ । प्राधिकरणले ‘अन्तरआबद्धता निर्देशिका–२०७६’ लाई कार्यान्वयन गर्ने निर्णयसँगै मोबाइल कलको शुल्कदर घट्ने भएको हो ।
यो व्यवस्था आगामी माघ १ गतेदेखि लागू हुनेछ । यो व्यवस्थाअनुसार फरक–फरक सेवा प्रदायकको नम्बरबाट कल गर्दा एउटा सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई भुक्तानी गर्ने रकम घट्ने भएको हो ।
नेपाल टेलिकमको मोबाइल नम्बरबाट एनसेलको मोबाइल नम्बरमा कल गर्दा एनसेलले टेलिकमलाई भुक्तानी गर्ने रकम घटाइएको हो । यस्तो शुल्क प्राधिकरणले १० पैसा मात्रै तोकेको छ । यसअघि यस्तो शुल्क ५४ पैसा रहेको थियो ।
अन्तरआबद्धता शुल्क घटेसँग सेवाग्राहीले भुक्तानी गर्ने शुल्क पनि घट्ने प्राधिकरणले जनाएको छ ।
हाल नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० शुल्क उपभोक्ताले तिर्नुपर्छ । प्राधिकरणको नयाँ निर्देशिकाअनुसार टेलिकमको प्रिपेडबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ ।
त्यस्तै, एनसेलबाट अन्य सेवा प्रदायकको नम्बरमा कल गर्दा अहिले प्रतिमिनेट करबाहेक एक रुपैयाँ ९९ पैसा शुल्क तिर्दै आएका छन् । नयाँ व्यवस्था अनुसार यस्तो शुल्क एक रुपैयाँ ५५ पैसामा सीमित हुनेछ । यस्तै स्मार्टबाट अन्य सेवा प्रदायकमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ९२ पैसा लाग्दै आएको छ । यस्तो शुल्क पनि घटेर अब प्रतिमिनेट एक रुपैयाँ ४८ पैसा हुने भएको छ ।