एजेन्सी । यूरोपभर अब एकै खालको चार्जिङ केवल प्रयोग गरिने भएको छ । सबै खालको पोर्टेबल उपकरणहरुमा एउटै खालको चार्जिङ केबल प्रयोगलाई अनिवार्य बनाउने कानून पारित गरिएको छ । नयाँ कानून अनुसार सन् २०२४ देखि एप्पल आइफोन र आईप्याडसमेतका सबै खालका स्मार्टफोन र ट्याब्लेटहरुमा यूएसबी–सी चार्जर चलाउनु पर्नेछ ।
ल्यापटप उत्पादकहरुले एउटै खालको चार्जर प्रयोगमा ल्याउन आवश्यक व्यवस्था मिलाउन सन् २०२६ सम्मको समय पाउने भएका छन् । यो कानूनको पक्षमा ६०२ मत खसेको थियो भने १३ ओटा विपक्षमा खसेको थियो । सदस्य देशहरुले यस प्रस्तावलाई अक्टोबर २४ सम्ममा अनुमाति दिने अपेक्षा गरिएको छ ।
उपभोक्ताहरुलाई नयाँ उपकरण किन्दा समेत पुरानै चार्जर प्रयोग गर्न प्रेरित गर्नका लागि सो कानून ल्याइएको हो । अनेकौ चार्जर राख्नु पर्दा फोहोर अनि असुविधा हुने हुँदा नयाँ नियमको स्वागत गरिएको छ । एप्पलले भने नियमको विरोध गरेको छ ।
आइफोन सिरिजमा एप्पल निर्मित लाइटिङ कनेक्टर छ । नयाँ नियम मोबाइल फोन, ट्याबलेट, ई–रिडर्स, माउस र किबोर्ड, जीपीएस उपकरण, हेडफोन, हेडसेट् र इयरफोन, डिजिटल क्यामरा, हातमा राखेर चलाउन मिल्ने भिडियो गेम कन्सोल र पोर्टेबल स्पिकरसम्म सानादेखि मझौला आकारमा पोर्टेबल विद्युतीय उपकरणमा लागू हुने छ ।