काठमाडौं । काठमाडौं उपत्यकामा अबदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ ।
आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै उपत्यकाका नागरिकहरूले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता तथा सह९सचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार आयोगले मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरको लागि पाइलट अपरेसनको रूपमा सुरू गर्ने निर्णय गरेको छ ।
‘फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाटै फारम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले वेब बेस्ड भोटर लिस्ट प्रि रेजिष्ट्रेसन सिस्टमु तयार गरेको हो,’ विज्ञप्तिमा भनिएको छ,‘ पाइलट अपरेसनको रूपमा काठमाडौं, भक्तपुर र ललितपुरबाट बुधबारदेखि सुरू गर्नेगरी आयोगले मंगलबार निर्णय गरेको छ ।’
‘मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्नु गराउनुहुन आयोग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।