सामाजिक सञ्जालमा चुनाव प्रचार नरोकिएपछि लाइक, कमेन्ट र शेयर गर्नेलाई पनि कारबाही

न्युजलय २८ बैशाख २०७९, बुधबार ०७:५८ मा प्रकाशित

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानिय चुनावका लागि हिजो मङ्गलबार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्नु पाइदैन ।


भौतिक रूपमा नारा जुलुस, भेला, र्‍याली लगायतका गतिविधि निकै कम भए पनि सामाजिक सञ्जालमार्फत हुने प्रचार भने रोकिएको छैन । फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, टिकटक लगायतका सामाजिक सञ्जालमा डलर तिरेर स्पोन्सर गरेका प्रचार सामग्री प्रशस्तै भेटिएका छन् । यस्ता सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्न पनि नपाइने आयोगले बताएको छ । तर अहिले प्रचार सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्नेहरू छ्यापछ्याप्ती भेटिएका छन् ।


आयोगले हिजो राति १२ बजेअघि नै स्पोन्सर गरिएका सामग्री निष्क्रिय बनाउन या हटाउन निर्देशन दिए पनि सामाजिक सञ्जालका भित्ता दल र उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन् ।


निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रचार सामग्री राख्ने र त्यसमा लाइक, कमेन्ट र शेयर गर्नेहरूलाई पनि कारबाही हुने चेतावनी दिए ।