ट्वीटरमा २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

न्युजलय १३ असार २०७९, सोमबार ०९:१५ मा प्रकाशित

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने फिचरको परीक्षण सुरु गरेको छ ।


हालसम्म केवल अधिकतम २८० अक्षर वा चिह्नहरूसम्मको ट्वीट गर्न सकिने सुविधा रहेकोमा ट्वीटरले प्रयोगकर्ताको आवश्यकतालाई दृष्टिगत गरी २५ सय शब्दसम्मको ‘नोट’ ट्वीटरमा सेयर गर्न सकिने फिचर सुरुवात गरेको हो ।


ट्वीटरमा लामो सूचनाको तस्वीर पोस्ट गर्ने र विस्तृत सूचना पढ्नका लागि ट्वीटरबाट बाहिर निस्किनुपर्ने बाध्यतामा रहेका प्रयोगकर्तालाई मध्यनजर गरी नोट फिचर सुरु गरिएको ट्वीटरले जनाएको छ ।


२५ सय शब्दसम्मको नोट ट्वीट गर्न सकिने फिचरलाई ट्वीटरले आगामी २ महिनासम्म क्यानडा, घाना, बेलायत तथा अमेरिकाका केही प्रयोगकर्तामाझ परीक्षण गर्नेछ ।


यो नयाँ फिचरले ट्वीटर प्रयोगकर्ताहरुलाई ट्वीटरभित्रै रहेर लामो सामग्रीसमेत पढ्न पाउने सुविधा प्रदान गर्नेछ । यसमा प्रयोगकर्ताले ट्वीटमा सुरुमा हेडलाइन देख्नेछन् र दिइएको लिंकमा क्लिक गरेसँगै ट्वीटरभित्रै विस्तृतमा उक्त ट्वीट (नोट) पढ्न सक्दछन् ।


आफ्नो नयाँ नोट फिचरको घोषणा गर्दै ट्वीटरले सोही फिचरको प्रयोग गरेर लेखेको छ : कम्पनीका सुरुवाती दिनहरु देखि नै लेखकहरु आफ्ना कार्यहरु शेयर गर्न, अरुको ध्यान आकृष्ट गर्न, पढिन तथा संवादको सिर्जना गर्न ट्वीटरमा निर्भर हुँदै आएका छन् । तर यी सबै हुँदा पनि ट्वीटरमै वास्तविक लेखाई भने भएन । ट्वीटरको नोट फिचरले त्यहीँ रिक्तता पूरा गर्ने लक्ष्य लिएको छ ।


प्रयोगकर्ताले प्रकाशित गरिसकेको नोटलाई पुनः सम्पादन समेत गर्न सक्ने सुविधा ट्वीटरले दिएको छ ।


स्मरण रहोस् सुरुमा १ सय ४० अक्षरमात्रैको ट्वीट गर्न सकिनेमा सन् २०१७ मा ट्वीटरले उक्त सीमालाई बढाएर २८० अक्षर पुर्‍याएको थियो ।