रचनात्मक सकसकले सकारात्मक परिणाम दिन्छ । यसैले आफ्ना विषय र क्षेत्रमा केही न केही काम गर्नुपर्छ भन्ने मानसिकताको सकारात्मक परिणाम इटहरीमा देखापरेको छ ।
किसानहरु भेला हुँदा कृषिजन्य उपकरण र औजारलगायत विषयमा कुरा गर्छन् भने सिभिल इन्जिनियरहरु भेला हुँदा आफ्नै विषय र क्षेत्रका बारेमा कुरा गर्नु स्वभाविक हुन्छ ।
यही क्रममा इटहरी ४ स्थित इन्जिनियर मोहन कार्कीको कार्यालयमा किसन अधिकारी, रविन आचार्य, उमेश सुब्बा, राजु आचार्य, महेश धिताल लगायतको हामी इन्जिनियरहरुको टिम मिलेर केही सेवामूलक व्यवशायिक काम गर्नुपर्छ भन्ने विषयमा बारबार छलफल गर्ने गथ्र्यौँ ।
समाजलाई सेवा पनि हुने र आफ्नो सीप, ज्ञान, कौशललगायत सेवामूलक व्यवशायिक दक्षता पनि बढ्ने गरी केही गरौं भन्ने उद्देश्य थियो । सोही क्रममा मोहन कार्कीजीले कोभिड १९ को चेकजाँच गर्ने सुरक्षित प्रविधि बनाउने विषय उठान गर्नुभयो ।
यस विषयलाई इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सभासदद्वय सर्वध्वज साँवा, लिलम बस्नेत, १ नं. प्रदेशमा नै कोभिड नियन्त्रण सम्बन्धमा प्रमुख भूमिकामा रहनु भएका मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीका अध्यक्ष गुरु बराल, प्रदेश मुख्यमन्त्री शेरधन राई समक्ष यही विषयमा कुरा राखियो ।
यसैक्रममा इटहरीका स्थानीय पार्टी नेताहरु हेमकर्ण पौडेल, बहादुर सिंह तामाङ ‘ज्वाला’ सित पनि हामीले निर्माण गरेको गर्न खोजेको प्रविधिका बारेमा जानकारी गरायौँ ।
कोभिड १९ अत्यन्त सङ्क्रामक रोग भएकाले रोग पहिचान र परीक्षण गर्न नै डराउने अवस्था थियो । यसका लागि रोग जाँच्ने सुरक्षित प्रविधि भनेको डाक्टर, नर्स वा चिकित्सकले लगाउने पीपीइ ९पर्सनल प्राटेक्टिभ इकुप्मेन्ट० हो । तर त्यो बेलामा अभाव थियो । यस विषयको खोजीले हामीलाई पीपीइ बुथ बनाउने प्रेरणा दियो ।
मानिसको उचाइ बराबरको आल्मुनियमको बक्साभित्रैबाट सुरक्षित पन्जा सहितको हातले नर्स, चिकित्सक वा डाक्टरले बाहिर रहेका विरामीको स्वावलगायत आवश्यक परीक्षण वा निरीक्षण गर्न सकिने प्रविधि तयार पार्यौं ।
यसले गर्दा रोगको पहिचान पनि हुने र डाक्टर वा चिकित्सक सुरक्षित रहन सक्ने स्थिति तयार भएको हो ।
यो प्रविधि बजारमा आउनु भन्दा पहिले प्लास्टिकको घेराबारा लगाएर र त्यस भित्र डाक्टर वा नर्स बसेर सानो प्वालबाट बिरामीको स्वाव संकलन गर्ने गरिएको थियो । कतै भने डाक्टर वा नर्सले आफ्नो शरीर पूरै प्लास्टिकले ढाकेर स्वाब परीक्षण गरेको पनि पाइयो ।
तर यस्तो प्रविधिभन्दा हामीले तयार पारेको प्रविधि भने धेरै सुरक्षित थियो । प्रविधिको माग पनि धेरैतिरबाट भयो । यस विषयमा अनुसन्धाता महावीर पुन सित पनि सम्पर्क गरेका थियौँ । वहाँले पनि यस्ता नयाँ प्राविधिका कामलाई सह्रना गर्नु भएको थियो । हाम्रो सकसकले कोभिड १९ का कारणले नेपाल लकडाउन भएको नवौँ दिन उक्त प्रविधि तयार भयो । दशौँ दिन एक समारोहका बीच इटहरी अस्पताललाई निःशुल्क प्रदान गरियो ।
पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अन्चल अस्पतालका डाक्टरहरुले समेत अवलोकन गरी प्रविधि उपयुक्त रहेको बताउनुभएको थियो । आर्थिक रुपमा भरथेग गर्न गुरु बरालले मदन भण्डारी स्मृति प्रतिष्ठानमार्फत् ठोस आर्थिक सहयोग दिलाइसकेपछि विभिन्न ठाउँबाट माग आउन थाल्यो ।
५५ हजार रुपैयामा तयार भएको यो प्रविधि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि नेपाल इन्जिनियर एसोसिएसन, प्रदेश नं।१ को आर्थिक सहयोगमा बनाएर उपलब्ध गरायौं ।
उदयपुर जिल्लाको बेलका गाउँपालिका, मोरङ जिल्लाको बेलबारी नगरपालिका र सुन्दरहरैँचा नगरपालिका, इनरुवा नगरपालिकामा पनि हामीले हाम्रो रेखदेख र सहयोगमा तयार गर्यौं । मोरङ जिल्लाको रमाइलो स्थित कानेपोखरी गाउँपलिकामा गएर त्यहाँ युवासङ्घले निर्माण गर्न लागेको उक्त प्रविधिका विषयमा हामीले नै प्राविधिक सहयोग गरेका थियौँ ।
यसपछि फुट अप्रेटेडहेन्डवास खुट्टाले थिचेर हात धुन मिल्ने मेसिन तयार पारेका थियौँ । कोभिड १९ हातबाट पनि संक्रमित हुने हुँदा हात सुरक्षित र सफा हुनु जरुरी थियो । तर हातले धारा खोलेर हात सफा पार्दा एक अर्कामा रोग संक्रमित हुने खतरालाई ध्यानमा राखेर खुट्टाले थिच्दा पानी आउने प्रविधि तयार पारेर हाम्रै टिमको आर्थिक तथा प्राविधिक सहयोगमा इलाका प्रहरी कार्यालय इटहरीलाई प्रदान गरियो ।
यस्तै हाम्रै प्राविधिक सहयोगमा त्रिवेणी टेक्निकल कलेज इटहरी, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका इनरुवा, नेपाली काँग्रेस इटहरीको सहयोगमा इटहरीको सब्जी मन्डीमा राखियो । हाम्रै प्राविधिक सहयोगमा तयार उक्त प्रविधि त्रिवेणी टेक्निकल कलेज, इटहरीले र इटहरी सामुदायिक अस्पताललाई निःशुल्क प्रदान गरको थियो ।
मिल्काजुङ गाउँपालिकाका इन्जिनियर हसरत अली नेपालले हामै प्राविधिक सहयोगमा निर्मित प्रविधि उक्त गाउँ पालिकालाई निःशुल्क प्रदान गरेका थिए । रमजानको खर्च कटाएर अलीले यो प्रविधि हस्तान्तरण गरेका थिए ।
यो न्यूनतम २४ हजार रुपैयामा तयार हुन्छ । इटहरी १६ स्थित हिमशिखर गृल उद्योगका सन्चालक कुलबहादुर निरौला र इटहरीका युवा व्यापारी सिनेट रिजाल तथा गौरव सोनीले समेत सहयोग गर्नुभएको थियो ।
यस्तै हामीले डिस्इन्फेक्टेट टनेल पनि बनायौं । यो मानिसमा रहेको किटाणु नाश गर्ने प्रविधि हो । यसलाई प्रदेश नं। १ का स्वास्थ्य प्राविधिक समेत आएर निरीक्षण गरेका थिए । सबै प्रविधि तयार भए पनि के कुन केमिकल हाल्ने भन्ने विषयमा अन्यौल हुन गयो ।
यो प्रविधि विभिन्न देशमा प्रयोगमा आएको तर यसले कोभिड १९ का कीटाणु नाश गर्न नसक्ने उल्टो मानिस वा रोगीलाई नै नकारात्मक प्रभाव पर्ने हुनाले यसलाई डब्ल्यु एच ओले नै निषेध गरेको पाइयो । यसमा गरेको हाम्रो लगानी र श्रम खेर गयो ।
हाम्रो समाज सबै खालको गरीबीले थिचिएको छ । सकारात्मक सोँच, चिन्तनको अभाव पनि रहेको छ । कुनै पनि सकारात्मक काममा उचित प्रोेत्साहनको पनि अभाव रहेको पाइन्छ । तथापि सकारात्मक सोच राख्नेहरु कम नै त रहेनछन् भन्ने पनि अनुभव हामीले यो काम गर्दै गर्दा हामीले पाएको हौसला र सहयोगबाट पुष्टि हुन गयो ।
कतिपय जिम्मेवार वा मन्त्री वा सोरहका व्यक्तिले भने हाम्रो सेवामूलक कामलाई विशुद्ध व्यापारिक वा व्यवशायिक काम हो भनेर निरुत्साहित गर्ने काम पनि गरे । कतिपयले यी अल्लारे केटाहरुले के नै गर्न सक्छन् र भनेझै पनि गरे ।
सकारात्मक इष्र्या भन्दा नकारात्मक इष्र्या गर्नेहरु धेरै देखिए । तथापि कामले काम सिकिन्छ भनेझैँ यस्ता काम गर्दा ढिलोछिटो राम्रै परिणाम निस्कन्छ भन्ने लागेको छ । राम्रो र असल उद्देश्यले गरेका कामको परिणाम ढिलै भए पनि राम्रै आउँछ भन्ने पनि अनुभव हुन गयो ।
लेखक सिभिल इन्जिनियर तथा प्रविधि निर्माणमा संलग्न एक सदस्य हुन् ।