आउँदो साताबाट एसएमएस गेटवे सुरू हुने, २० पैसामै म्यासेज आदान-प्रदान

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार ०८:१७ मा प्रकाशित

काठमाडौँ । सूचना प्रविधि विभागले नेपाल टेलिकम र सरकारी निकायहरूसँगको सहकार्यमा एसएमएस गेटवे सञ्जाल प्रयोगमा ल्याउन लागेको छ । आउने साताबाट नै कार्यान्वयनमा ल्याउने विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले जानकारी दिए ।


कुनै पनि सरकारी निकायले सूचना प्रविधि विभागको पूर्वाधार (सफ्टवेयर) प्रयोग गरी दूरसञ्चार प्रदायक (हाल नेपाल टेलिकम) मार्फत् सेवाग्राहीलाई एसएमएस पठाउने प्रणाली नै एसएमएस गेटवे हो । यसबाट सम्बन्धित निकायले आफ्ना सेवाग्राहीलाई सस्तो दरमा सूचना वा जानकारी पठाउन सक्छन् । सेवाग्राहीले पनि सम्बद्ध सरकारी निकायलाई एसएमएस पठाउँदा लाग्ने शुल्क सस्तो हुनेछ ।


‘यो सञ्जाल लागू भएपछि सरकारी निकायले सेवाग्राहीलाई २० पैसामै एसएमएस पठाउन सक्नेछन् । अहिले एनसेल र एनटीसीको सञ्जाल प्रयोग गरी पठाउँदा १ रुपैयाँ २० पैसा मूल्य पर्ने गरेको श्रेष्ठले बताए ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबाट यो गेटवे सञ्जाल सुरू गर्न लागेको श्रेष्ठको भनाइ छ । यातायात विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोखरेलले एनटीसीसँग जीटुजी सम्झौता गरिसकेको र हाल नेटवर्किङको काम भइरहेकाले १ साता वा १५ दिनभित्र एसएमएस सुविधा थालनी हुने जानकारी दिए ।


पोखरेलकाअनुसार सेवाग्राहीले यातायात विभागलाई एनटीसीबाट एसएमएस पठाउँदा र विभागले सेवाग्राहीलाई एसएमएस पठाउँदा २० पैसा मात्रै लाग्नेछ ।


पोखरेलका अनुसार सेवाग्राहीले अब लाइसेन्स लिनका लागि आफैंले फारम भनुपर्नेछ ।