संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:२० मा प्रकाशित

उत्तरी छिमेकी राष्ट्र चीनको वुहान सहर बाट फैलिएको नोबल कोरोना (कोभिड–१९) भाइरसको संक्रमणले अहिले विश्व भरिनै माहामारीको रुप लिइरहेको छ ।

यो संक्रमणबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन । यो भाइरसको संक्रमण यतिखेर विश्वका करिब १९३ देशमा फैलिसकेको छ भने यस रोगका कारण धेरैले ज्यान समेत गुमाई सकेको छ । साथै यो भाइरसबाट संक्रमित मृत्यु हुनेहरुको संख्या पनि दिनानुदिन बढिरहेकोछ ।

त्यसो त यो रोगको संक्रमणले मानिसहरुको मृत्यु मात्र भएको छैन । यो रोग लागे पश्चात निको हुनेहरुको संख्या पनि उल्लेख्य मात्रामा रहेको छ । कोरोना भाईरसको संक्रमण सुरु भएको यतिका महिना सम्म पनि यस रोगको कुनै ठोस र प्रभाबकारी उपचार बिधि र औषधि बन्न सकिरहेको छैन ।

चिकित्सा विज्ञानमा राम्रो दखल र प्रबिधि मैत्री क्षमता बोकेको विश्वका शक्तिशाली देशहरुले समेत यस रोगको निदानमा सफलता हात पार्न सकिरहेको छैन । यसरी यतिका लामो समय सम्म यस भाईरसको संक्रमण कायम रहनु र यसको प्रभावकारी औषधि उपचार विधि पत्ता नलाग्नुले गर्दा आम मानिसहरुमा ठुलो डर,त्रासका साथै शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक तथा मनोवैज्ञानिक लगायतका विविध स्वास्थ्य समस्याहरु देखिन थालेका छन् ।

तसर्थ कोरोना भाइरस कसरी सर्छ ? यो कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी यावत सामसामयिक विषय बस्तुहरुलाई समेटेर सम्पूर्ण पाठकहरु तथा आम जनसमुदायहरुमा यो खाले संवेदनशिल तथा जटिल परिस्थितिमा आफ्नो जीवनयापनालाई सहज बनाउन र यस रोगको वास्तविकता बुझी आफूलाई अनुकुल, डर, त्रास र भयरहित बनाउन र बन्न मदत पुगोस् भन्ने पवित्र उदेश्यका साथ यस रोग संग सम्बन्धित विभिन्न विज्ञ तथा विशेषज्ञहरु संग आवश्यक परामर्श, छलफल र आवश्यक अध्यन गरि खोजमुलक ढंगले यो लेख तयार पारिएको छ ।

–अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन । पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दूध आदिबाट शिशुलाई कोरोना सर्दैन । कोरोना स्वासप्रस्वास संग सम्बन्धित भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्यु गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ । तर सबैलाई सर्दैन । नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो ।

–अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन । कोरोना भाइरस स्वाश्प्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे र झिंगाको टोकाइबाट सर्दैन ।

–खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ । कोरोना भाइरसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ ।

–स्यानिटाइजर भन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ ।

–मास्क सहि तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ । त्यसैले सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पूनः प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुपर्दछ ।

–संक्रमित व्यक्तिले छुंदैमा तथा छोंटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन । कोरोना भाइरस सर्नको लागि १ हजार देखी ३ हजार भाइरस हाम्रो शरीरमा प्रवेश गर्न आवश्यक हुन्छ । यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ । अन्यथा छोंटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन ।

–कोरोना भाइरस हावाबाट सर्दैन । ६ फिटको दूरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ । हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्यु गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ । तसर्थ यस्तो बानीलाई तुरुन्तै हटाउनु पर्छ ।

–कमन शौचालय प्रयोग गर्दा कोरोनाको संक्रमण हुने सम्भावना हुन्छ । यो जोखिमबाट बच्नको लागि सौचालयको ह्यान्डल, तालाचाबि, चुकुल, भित्ता, सतह, प्यान वा कमोड पटकपटक साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सफा गरि संक्रमणरहित बनाउनुपर्छ
साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सौचालय सफा गर्नुपर्दछ । त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढक्कन लगाएर गर्नुपर्दछ ।

–चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान (पंखा) वा एसिले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ । अमेरिकामा भएको अध्ययनले पनि एसिको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ । तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ । संक्रमित नभएको परिवारमा पंखा र एसिले हानि गर्दैन ।

–धेरै सूचना लिएर कोरोनाबाट बच्न सकिंदैन । धेरै मिडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाव हुन्छ । तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ । टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ । जसले थप तनाब उत्पन्न हुन्छ । तसर्थ यस्तो बानीमा समेत सुधार गर्नु पर्छ। कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ । त्यस्तै निको भएपछि पनि २ हप्ता सम्म होम क्वारेन्टाइनमा बस्नुपर्दछ ।

–एकजना व्यक्तिले औसत ३ जनालाई यो संक्रमण सार्न सक्छ । कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो । १/२ जनालाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन । एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ । रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिमा अलग अलग हुन्छ । रोगप्रतिरोधात्मक क्षमता बलियो भएको व्यक्तिलाई यो संक्रमण हुदैन तर कम्जोर रोग प्रतिरोधात्मक क्षमता भएकाहरुलाई भने यसको संक्रमण चाडै हुन सक्छ ।

–बालबालिका जोखिम बर्गमा पर्दैनन् । तर उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण गर्न सक्दछ ।

–कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लगायतका लक्षण हुनै पर्छ भन्ने छैन । हाल लक्षणविहिन कोरोना संक्रमण पनि धेरै देखिएको छ । त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ ।

–कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा अनिवार्य बस्नुपर्छ भन्ने छैन, अधिकांश देशमा संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने गरिएको छ । आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्वरो आएमा पारासिटामोल खाने तथा अरु परिवारसँग दूरी कायम गर्दा ८५ प्रतिशत संक्रमितलाई निको हुन्छ । लक्षणहरु देखिएमा तथा स्वासप्रस्वासमा समस्या देखिएमा वा गाह्रो भएमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ ।

–कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन । ८५ प्रतिशत संक्रमितमा सामान्य लक्षण देखिएर आफै निको हुन्छ । मुटुको रोग, किड्नीको रोग, फोक्सोको रोग, अटोइम्युन डिस्अर्डर, क्यान्सर आदिका दीर्घरोगीलाई मात्र जोखिम हुन्छ । यसको मृत्युदर हाल सम्म जम्मा ३ प्रतिशत मात्र छ ।

–कोरोना भाइरस अत्यन्तै घातक भाइरस हैन । सार्स, मर्स, इबोला, प्लेग, बिफर लगायतका रोगभन्दा यो निकै कम घातक छ ।

–संक्रमण फैलिएको यो अवस्थामा सेवन गरिरहेका औषधि तथा नबिग्रिने खाद्य पदार्थ २/३ महिनाको स्टोर गर्ने, तरकारी फलफूल हप्ताको एकपटक किन्ने, दूध २ दिनमा एकपटक किन्ने गर्दा थप सुरक्षित हुन सकिन्छ ।

–कोरोना भाइरस मार्नको लागि सोडा, एसिड, अल्कोहल, स्टेरोइड औषधि, इथानोल, तेल आदिले कुल्ला गर्ने वा निल्ने गरेमा खतरा हुन्छ । तसर्थ सरसफाई, सामाजिक दूरी र बाहिर एकदम कम समय जाने जस्ता सुरक्षित अभ्यासले कोरोना संक्रमणबाट बच्न सकिन्छ ।

–हावा ओहोरदोहोर गर्ने ठाउँमा यो भाइरस लामो समय रहँदैन । साबुनपानी, स्प्रिट कपास, तथा स्यानिटाइजरले सफा गर्दा सतहमा वा सामानमा भाइरस निस्क्रिय हुन्छ ।

–नेपालमा मृत्यु भएको पहिलो बिरामीलाई सुरुमा पिसीआर टेष्ट गरेर प्रसव गराएको भए आइसीयुमा राखेर बचाउन सकिन्थ्यो । दोस्रो केसको हकमा पनि सुरुमा टेष्ट गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजल र सलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो ।

–संक्रमण धेरै फैलिएर हाम्रा अस्पतालले थेग्न सक्ने अवस्था नभएमा हामीले विभिन्न राष्ट्र तथा संस्थाबाट सहयोग पाउनेछौं । चीन लगायत धेरै देशमा कोरोना संक्रमण काबुभित्र आइसकेको छ । यो महामारीमा एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् ।
तसर्थ कोरोना भाइरसबाट त्रसित होइन सजग बनौ । आफु बचौं र अरुलाई पनि बचाऊ।

(लेखक राई बिज्ञान तथा स्वास्थ्य विषयका बिधार्थी हुन् ।)