इ-सेवाले बोनस बाँड्छ भन्दै सवा सात लाख रुपैयाँ ठग्ने दुई जना पक्राउ

न्युजलय ८ फाल्गुण २०७८, आइतबार ०८:२३ मा प्रकाशित

काठमाडौं । इ-सेवाले बोनस बाँड्छ भन्दै पैसा जम्मा गर्न लगाएर सवा सात लाखभन्दा बढी रकम ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 


पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका २ का सुभम साह र बारा गढीमाई नगरपालिका १० घर भई वीरगंज बस्ने सर्फराज आलम छन्।


उनीहरूले ९८२९४०२०४९ नम्बरबाट फोन गर्दै आफूहरू इ-सेवाको कर्मचारी भएको र इ-सेवाले बोनस बाँड्दै छ भन्दै आफ्नै खातामा ५० हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए।


५० हजार जम्मा गरेमा साढे दुई हजार बोनस पाइन्छ भनेर पीडितलाई बिश्वासमा पारेर इ-सेवा आइडीको वटिपीसमेत मागेर बैंक खातामा समेत पहुँच बनाएर सात लाख २७ हजार ३४८ रुपैयाँ ठगी गरेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ।


अनुसन्धान गर्दा उक्त ठगी गरेको रकमले टिकटकमा बिक्रीको लागि राखिएको आइफोन १३ प्रोम्याक्स एक लाख ९० हजारमा किन्ने सहमति गरी पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा रकमान्तर गरेको खुलेको महाशाखाले जनाएको छ।


सो मोबाइल वीरगंजबाट पाउने गरी पठाउन लगाएको खुलेको छ। यसैगरी ठगीको रकम बिभिन्न सामान किन्न अन्य व्यक्तिहरूका खातामा समेत पठाइएको पाइएको महाशाखाले जनाएको छ।


उनीहरूलाई पर्सा प्रहरीको समन्वयमा पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।