काठमाडौं । आइतबार र सोमबार नेपालको इन्टरनेटमा समस्या देखियो । स्लो हुने र नेटवर्क जाने समस्याको कारक भने दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फोट थियो । शनिबार भएको यो विष्फोटको असर नेपाली इन्टरनेटमा समेत देखिएको हो ।
बिस्फोट र समुद्री आँधिबाट सबमरिन (समुद्र मुनी बिच्छ्याइएको अप्टिकल फाइबर) केबलमा क्षति पुगेपछि विश्व इन्टरनेट सञ्जालमा समेत त्यसको असर परेको हो ।
ज्वालामुखी बिस्फोटबाट आई एमई डब्लूई (भारत र फ्रान्स जोड्ने १३००० किलोमिटर लामो समुद्री केबल), २० हजार किलोमिटर लामो एसिया अमेरिका गेट(वे र मध्यपूर्व उत्तर अमेरिका (एमईएनए) जोड्ने ८८०० किलोमिटर लामो सबमरिन केबल चुँडिएको छ । त्यस्तै दक्षिण पूर्वी एसिया(मध्य पूर्व पश्चिम युरोप जोड्ने अप्टिकल फाइबर (एसईए एमई डब्लूई ४), टेलिकम मलेसियाको समुद्री केबल, एसियालाई आपसमा जोड्ने ७२०० किलोमिटर लामो सबमरिन केबल एक्सप्रेस (एएसई) मा समेत क्षति पुगेको जानकारी आएको छ ।
खासगरी युरोप र अमेरिकाबाट नेपाल आउने इन्टरनेट ब्यान्डविथ तथा ट्राफिकमा बढी समस्या देखिएको इन्टरनेट क्षेत्रका प्राविधिकहरूले बताएका छन् । नेपालमा भारतका टाटा, एयरटेल लगायतका सेवाप्रदायकको नेटवर्क र चाइना टेलिकमको नेटवर्क भएर इन्टरनेट नेपाल भित्रिने गरेको छ ।