टाटा कम्पनीले भारतमै आइफोन बनाउँदै

न्युजलय १३ असोज २०७९, बिहिबार ०७:२८ मा प्रकाशित

काठमाडौं । टाटा ग्रुपले भारतमा आइफोन बनाउने भएको छ । 

ताइवानी कम्पनी विस्ट्रोन कर्पलाई आफुमा गाभेर भारतमा आइफोन उत्पादनलाई बढाउने टाटा ग्रुपले योजना बनाएको छ ।

स्मरण रहोस् चीनमा कोभिड १९ को बढ्दो संक्रमणसँगै विभिन्न ठाउँमा प्रतिबन्धहरु पनि जारी छन् । सोही कारण एप्पललाई व्यवसायिक रुपमा नोक्सान भैरहेको छ र ऊ चीनबाट आफ्नो कारोबार बाहिर सार्न चाहन्छ । त्यसका लागि एप्पलले भारतलाई सबैभन्दा उपयुक्त ठाउँको रुपमा महसुस गरेको छ ।

यस्तै एप्पलले हरेक वर्ष चीनबाट भारतमा ३ लाख ७० हजार आइफोन आपूर्ति गर्दछ जुन यो वर्ष करीब ५ लाख ७० हजार गोटा पुग्ने अनुमान गरिएको छ ।

साथै चीनको तुलनामा भारतमा श्रमिकको ज्यालादर तथा अन्य खर्च पनि कम छ । यी सबै चिजलाई मध्यनजर गर्दै एप्पलले भारतमा आफ्ना उत्पादनहरुको निर्माण बढाउन चाहेको छ ।

विश्लेषक जेपी मोर्गनको रिपोर्ट अनुसार सन् २०२५ सम्ममा करीब २५ प्रतिशत आइफोनको निर्माण भारतमै हुनेछ । अर्थात् आगामी ३ वर्षमा विश्वमा बिक्रि हुने एक चौथाई आइफोन मेड इन इण्डिया हुनेछन् ।यहीँ वर्षको अन्त्यसम्ममा मेड इन इण्डिया आइफोनको हिस्सेदारी ५ प्रतिशत पुग्ने बताइन्छ ।

उता भारत सरकारले पनि एप्पललाई चीनबाट आफ्ना कारखानाहरु भरतमा स्थानान्तरण गराउनका लागि हरसम्भव कोसिश गरिरहेको छ । यसका लागि भारत सरकार र एप्पलका प्रतिनिधिहरुबीच लगातार छलफल भैरहेका छन्।