बीबीसी । स्लोभाकियाको यातायात निकायले जमिनको सतहभन्दा ८ हजार फिट माथिसम्म १६० किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्ने क्षमतायुक्त कारलाई हवाई उडान गर्न सक्ने प्रमाणपत्र प्रदान गरेको छ ।
हाइव्रिड कार–एयर क्राफ्ट अर्थात ‘एयर कार’मा बीएमडब्ल्यूको एउट इन्जिन जडान गरिएको छ । यो नियमित पेट्रोल पम्पकै इन्धन प्रयोग गरेर चल्ने गर्दछ । यसलाई कारबाट एयरक्राफ्टमा परिणत हुन केवल २ मिनेट १५ सेकेन्ड लाग्छ ।
कम्पनीले २०० पटक भन्दा बढी उडान र अवतरण तथा ७० घन्टा लामो उडानपछि सरकारले प्रमाणपत्र प्रदान गरेको जनाएको छ ।
यसका निर्माता प्राध्यापक स्टेफन क्लेइनले भनेका छन्, ूएयर कारले प्रमाणपत्र हासिल गरेपछि अब ठूलो संख्यामा निकै सक्षम उड्ने कार उत्पादनका लागि ढोका खुलेको छ । सदाका लागि मध्यम दुरीको यात्राको स्वरूप परिवर्तनका लागि यो हाम्रो योग्यताको अन्तिम र औपचारिक पुष्टि हो ।ू
गत जुनमा यो उड्ने कारले स्लोभाकियाको राजधानी ब्राटिस्लाभा र नित्रा सहरमा रहेका विमानस्थलबीचको ३५ मिनेट लामो उडान पूरा गरेको थियो । कम्पनीले निकट भविष्यमा नै लन्डनदेखि पेरिससम्मको उडान तय गर्ने योजना बनाएको छ । विश्वका अन्य कम्पनीहरू पनि सडक र आकास दुवैमा प्रयोग गर्न सकिने उड्ने कारको विकासमा लागि रहेका छन् ।
परम्परागत विमान जस्तै अवतरण र उडन भर्ने एयर कार चलाउनका लागि पनि पायलटको अनुमतिपत्र आवश्यक छ । हालै बोइङ कम्पनीले पनि अमेरिकाको क्यालिफोर्नियास्थित स्वायत्त–एयरट्याक्सी कम्पनीमा थप ४५ करोड अमेरिकी डलर लगानी गर्न लागेको जनाएको छ ।
यस कम्पनीमा गुगलका सहसंस्थापक ल्यार्री पेजद्वारा सञ्चालित कम्पनी किटी हकको पनि साझेदारी रहेको छ ।