आजदेखि दर्ता नभएका मोबाइल फोन नचल्ने

न्युजलय ३० भदौ २०७९, बिहिबार ०१:४१ मा प्रकाशित

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। आजदेखि यो प्रणाली लागू गरिएसँगै अब दर्ता नभएका मोबाइल फोन नेपालमा सञ्चालन हुन पाउने छैनन्।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्न यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ। यो प्रणाली लागू भएसँगै चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने बनाइनेछ।

यो प्रणाली कार्यान्वयनमा गएसँगै अब नेपाल भित्रिने सबै मोबाइल फोनहरू दर्ता गर्नु पर्नेछ। दर्ता नभएका मोबाइल फोनमा सिमकार्डले काम गर्ने छैनन्। यद्यपि, आजसम्म सञ्चालनमा आएका मोबाइल फोन भने दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार‚ भदौ ३० पछि भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने छ। विदेशबाट आफन्तले पठाइदिएको मोबाइल फोन पनि प्राधिकरणको प्रणालीमा गएर आईएमईआई नम्बर दर्ता गरेपछि मात्रै सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मोबाइल खरीद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरीद गर्न सूचना जारी गरेको छ।