इन्टरनेट कम्पनि फेरेपनि डिभाइस फेर्नु नपर्ने

न्युजलय ३२ साउन २०७९, बुधबार ०८:३१ मा प्रकाशित

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले घरायसी राउटर र अप्टिकल नेटवर्क टर्मिनल (ओएनटी) अप्टिकल नेटर्वक युनिट (ओएनयू) को मापदण्ड तय गरेको छ।

अब एउटा इन्टरनेट सेवा प्रदायकको डिभाइस अर्को सेवा प्रदायकको सेवा लिँदा पनि प्रयोग गर्न मिल्ने अर्थात् इन्टरअपरेटेबल हुनुपर्नेछ। पुरानै आइएसपीले दिएको डिभाइस नयाँमा पनि प्रयोग गर्न मिल्ने हुनुपर्ने प्रावधान प्राधिकरणले ल्याएको छ।

यसका कारण उपभोक्ताहरुले सेवा प्रदायक फेरेपिच्छे डिभाइस फेर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास प्राधिकरणको छ। 

प्रयोगकर्तासँग भएको राउटर बिग्रिएको अवस्थामा सेवा प्रदायकले एक दिन भित्रै मर्मत सेवा दिनुपर्नेछ। सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्ताहरुलाई जडित उपकरणको प्रयोग र क्षमतासहितका विवरण बारे जानकारी गराउनुपर्ने जिम्मेवारी तोकेको छ।

इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई उपलब्ध गराएको रेडियोयुक्त डिभाइसहरुमा कम्तिमा एक वर्ष वारेन्टी दिनुपर्ने भएको छ। सेवा प्रदायकहरुले इन्टरनेटको गति र वायरलेस रेन्ज बढाउन रिपिटर्स वा एस्कटेन्डर्स प्रयोग गर्न प्रयोगकर्ताहरुलाई सिफारिस गर्नुपर्ने भनेको छ।