काठमाडौं । केही साता अघि युट्युवले ‘डिसलाइक’ बटन हटाउने निर्णय गरेको थियो । प्रयोगकर्ताको ‘युजर इन्टरफेस’ मा भ्युअर र कन्टेन्ट क्रियटरको सौहार्द अन्तरक्रिया स्थापित गर्नका लागि डिसलाइक गणना गर्न बन्द गर्न लागिएको कम्पनीको भनाई छ ।
भिडिओको लाइक अथवा डिसलाइकका आधारमा कन्टेन्टको गहनताबारे थाहा पाउन नसकिने भन्दै धेरैले कम्पनीको यस किसिमको निर्णयको आलोचना गरेका छन् । यसैबीच युट्युबका सहसंस्थापक जावेद करिमले डिसलाइक गणना हटाउने युट्युबको निर्णयको खण्डन गरेका छन् ।
उनले ‘मि एट द जू’ टाइटलमा युट्युबकै पहिलो भिडिओ राखेका थिए । उक्त भिडिओको डिस्क्रिप्सन परिमार्जन गर्दै उनले युट्युबको निर्णय तर्कसङ्गत नभएको दाबी गरेका छन् । जसमा धेरैले कमेन्ट मार्फत उनको समर्थन पनि गरेका छन् ।
मैले यस्तो अनावश्यक घोषणा पहिले कहिल्यै देखेको छैन । उनका अनुसार युट्युबले विश्वव्यापी रुपमा डिसलाइक हटाउन चाहनुको कारण उपयुक्त छैन । बरु यसको साटो युट्युबरहरूमा आधारित अन्य उपयोगी अनुसन्धान गर्नु उचित हुने उनको सुझाव छ ।