नेपाल टेलिकमको नाफा १७ प्रतिशतले बढ्यो

न्युजलय ३० साउन २०७९, सोमबार ०८:५५ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमको वार्षिक नाफामा १७.५४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

कोभिड १९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापीरूपमा व्यापार व्यवसायमा कमी आएको, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा घट्न गइ ब्याज आम्दानीमा कमी आएको थियो भने कोभिड महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराएको थियो । 

त्यस्तै कोभिड महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभूतपूर्व गिरावट आउनुका साथै ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तर(आबद्धता सेवामा भारी गिरावट आएको र समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत सम्भार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा फोर जी, एफटीटीएच जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धिका कारण अघिल्लो आर्थिक वर्षमा नाफामा संकुचन आएको थियो । यसपाली भने कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो।

१८ अर्ब रुपियाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपियाँ सञ्चित छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी हो।

नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२८ रुपसयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.८८ गुणा छ।