पुर्व कामरेड भट्टराईलाई पुर्व कार्यकर्ताको ८ प्रश्न

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:१० मा प्रकाशित

 डाक्टर बाबुराम भट्टराईको अन्तर्वार्ता हेरेँ । उनी के भन्छन् भने ‘ओलि सरकारले हामिलाई निषेध गरे । अरिङ्गालको सेना लगाएर हाम्रो एजेन्डा धमिलो बनाए । कार्तिक मै नक्सा ल्याउँ भनेर हामीले नै भनेको हो ।’

सरकारलाई आरोप लगाउँदै मुलुक भयावह स्थिति तिर जाँदै गरेको र ओलिले सिक्किम बनाउन खोजेको उनको आरोप छ । नक्सा बनाउन हरेक मुलुकको अधिकार क्षेत्रभित्र पर्छ तर उनको जोड नक्साभन्दा पनि जमिन ल्याउनु पर्यो भन्नेमा छ । बाबुराम बोली राख्दा मलाई के लाग्यो म कुनै कमेडियन स्पिच सुन्दैछु ।

अरे यार बाबुराम जि कुनै बेला तपाईलाई भेट्न शिवजीको दर्शन पाउनु जत्तिकै सम्झिन्थ्यौं हामी । हामीलाई गर्व लाग्थ्यो । तर अहिले आएर यति घृणा लाग्छ ।त्यो भनेर साध्यै छैन ।

ल ठिक छ बर्तमान प्रम बदमासै हुन् अरे । विपक्षको कुरै सुनेनन् । निषेधको राजनीति गरे । यो पनि मानौँला । तर यति भनी राख्दा मेरो केही प्रश्नको उत्तर दिनुहुन्छ कि ?

१. तपाईले आफैले भनेको बुर्जुवा शिक्षाको परिचयपत्र लिएर किन डाक्टर लेख्नु हुन्छ ?

२. बुर्जुवा शिक्षा नलिनु भनेर हामीलाई बन्दुक बोकाउने तपाईं आज हाम्रो भविष्य तहसनहस भएको जिम्मेवारी लिनुहुन्छ ?

३. हामीले जनमुक्ति सेना सुरक्षा बल बनाउनु पर्छ भन्दा तपाईं नै होइन हतियार बुझाउन लाउने ?

४. शान्ति वार्ता भइसकेपछी हामीलाई कहाँ सम्झौता गराउनु भयो ?

५. सत्यनिरूपण आयोगले दिने भनेको क्षतिपूर्ति दिलाउन सक्नु भयो ?

६. बिप्पा सम्झौता न गरौं भन्दा भारतमा टाट पल्टेका कम्पनी भित्र्याउने तपाई नै हैन ?

७. २०७२ को संबिधान तपाइले जारी गर्दै गर्दा लिपुलेक लिम्प्याधुरा, कालापानीसहितको नक्सा किन जारी गर्नु भएन ?

८. तपाई अहिले आएर तराई, मधेस भनेर भुगोल छुट्याएर साम्प्रदायिक कुरा बोल्नुको अर्थ के हो ?

मलाई यी प्रश्नको जवाफ दिनुहोस् । म तपाईं जत्ती बिज्ञ होइन । तर नेपालको राजनीति भोगाई सेनाको बन्दीदेखि लामो समयसम्मको जेलजिवनको भोगाइ छ मसँग । तपाईजस्ता मान्छेहरुले हामी जस्ताहरुलाई आफ्नो राजनीति साधन बनाउनु भयो । अहिले आएर कुतर्क गर्ने अधिकार तपाईलाई छैन । तपाइले कम्युनिष्ट पार्टी छाडेर नयाँ शक्तिको कुरा गर्नुभयो । अहिले कतै नअटेर समाजवादीको शरणमा हुनुहुन्छ । तपाईले पहिलेदेखि कुन समयमा के कुरा बोल्नुभयो, सबैको फेहरिस्त बोकेर बसेका छौं ।

(मैनाली पुर्व माओवादी लडाकु हुन्)