सोलुखुम्बु । सोलुखुम्बुमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । दुई दिनदेखि टेलिकमको सोलुखुम्बु क्षेत्रको नेटवर्कमा समस्या आउँदा जिल्लाका सेवाग्राही मारमा परेका हुन् ।
हिजो बुधबार बिहानदेखि नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, लागे पनि आवाज नबुझिने लगायतका समस्या देखिएको प्रयोगकर्ताले गुनासो गरेका छन् । जसका कारण सञ्चार सेवाबाट आफूहरू वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ ।
नेपाल टेलिकम सल्लेरी शाखाका प्रमुख महमद अकबर अलीले पत्ताले र ओखलढुङ्गाको बीचमा फाइबर तार चुँडिदा समस्या आएको बताए। उनका अनुसार यो क्षेत्रको सडक मर्मतको क्रममा एक्स्काभेटरले टेलिकमको फाइबर चुडाउँदा नेटवर्कमा खराबी आएको हो ।
मर्मतका लागि नेपाल टेलिकम ओखलढुङ्गाबाट प्राविधिकसहितको टोली खटिसकेकाले भोलि शुक्रबारसम्ममा समस्या समाधान हुने नेपाल टेलिकम सल्लेरी सोलुखुम्बुले जनाएको छ ।