अब टिकटकमा पनि फोटो स्लाइडशो फिचर

न्युजलय २५ असोज २०७९, मङ्गलबार ०९:३५ मा प्रकाशित

काठमाडौं । आजका दिनसम्म सामाजिक सञ्जालका विभिन्न माध्यमले टिकटकको फिचर कपी गरेको समाचार बाहिर आएका थिए । विशेषगरी इन्स्टाग्राम, फेसबुक र युट्युबले टिकटकको शर्ट भिडिओ शेयरिङ फिचर नै कपी गरेका थिए । अहिले भने टिकटकले इन्स्टाग्रामको एउटा फिचर कपी गरेको छ, जसलाई कम्पनीले फोटो मोड नाम दिएको छ ।


यस नयाँ फिचरमार्फत प्रयोगकर्ताले एउटै पोस्टमा धेरै फोटो शेयर गर्नुका साथै २२०० अक्षरसम्मको क्याप्सन राख्न सक्नेछन् । नयाँ फोटो पोस्टमार्फत म्युजिक पनि फिचर गर्न सकिनेछ । यस्ता पोस्ट प्रयोगकर्ताको फर यु पेजमा भिडिओ सँगसँगै देखिनेछन् ।

 

टिकटकले एउटा ब्लगपोस्ट सार्वजनिक गर्दै क्याप्सनका शब्दहरू बढाउने बताएको छ । जसका माध्यमबाट क्रियटरले आफूलाई अझ प्रस्ट रूपमा प्रस्तुत गर्नसक्ने टिकटकको विश्वास छ ।


तर, फोटो मोडले फर यु पेजलाई टिकटक जस्तै बनाए पनि त्यो जस्तो क्रियटिभ नहुने विश्लेषक बताउँछन् । माशेबलका अनुसार यो फिचर क्रियटरले मिम तथा अन्य प्रख्यात कन्टेन्ट शेयर गर्नका लागि उपयोग गर्न सक्नेछन् ।

 

इन्स्टाग्रामले प्रयोगकर्तालाई आकर्षित गर्न आफ्नो प्रमुख फिचरलाई भन्दा रिललाई बढी केन्द्रित गरेको थियो । यस्तो अवस्थामा टिकटकले पनि इन्स्टाग्रामको पदचाप पछ्याएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार डेली वाच टाइमको आधारमा इन्स्टाग्रामको रिलभन्दा टिकटक धेरै नै अघि छ ।


पछिल्लो समय ठूला ठूला सामाजिक सञ्जालका माध्यमले आफ्ना प्रतिद्वन्दीको फिचर दुरुस्तै कपी गरिरहेका छन् ।