काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले देशका विभिन्न ठाउँहरुमा जुनसुकै बेला पनि इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट प्वाइन्ट, डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा विद्युत लाइन काटेकाले इन्टरनेट सेवा बन्द हुनसक्ने भएको आईएसपीएनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी गैरकानुनी ढंगले प्राधिकरणले विद्युत् काटेपछि इलाम, विराटनगर, खोटाङ, गाइघाट, इनरुवा, धरान, दुबही, लहानर डोटीमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुन सक्नेछ ।
ती स्थानमा ब्याकअप सिस्टमको प्रयोग भइरहेको र त्यसले धान्न छाडेपछि कुनैपनि समयमा सेवा अवरुद्ध हुन सक्ने संघको भनाइ छ । संघले इन्टरनेट सेवा प्रदायकहरू पोल भाडा तिर्न तयार रहेको र त्यसका लागि समितिको प्रतिवेदनअनुसार हुनुपर्ने स्पष्ट गरेको छ।