अफगानिस्तानमा चिसो र कार्बन मोनोअक्साइडका कारण १०० जना बढीको मृत्यु

न्युजलय १० माघ २०७९, मङ्गलबार ०८:०४ मा प्रकाशित

काबुल । अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

तालिबान नेतृत्वको सूचना तथा संस्कृति मन्त्रालयको तथ्याङ्क अनुसार विगत दुई हप्तामा चिसोका कारण दशौं हजार गाईबस्तु मरेका छन् ।

स्थानीय टोलो न्युजले हालै उल्लेख गरेअनुसार अफगानिस्तानको हेरात प्रान्तमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तीमा १४० जनालाई अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना हुनेमा बालबालिका र महिला धेरै छन् ।

हेरातका बासिन्दाहरूले कडा जाडोमा घर न्यानो पार्न प्रयोग हुने ग्यास र दाउराको मूल्य बढेको गुनासो गरेका छन्।

तापक्रममा अचानक आएको गिरावटले समस्याग्रस्त देशमा गरिबी र खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसहरूलाई अझ नराम्ररी असर गरेको छ। चिसोका कारण चार प्रदेशमा १६ जनाको मृत्यु भएको टोलो न्युजले जनाएको छ ।