विमान दुर्घटनामा मृत्यु भएका चार भारतीयको परिवारलाई प्रदेश सरकारले पाँच लाख रूपैयाँ दिने

न्युजलय ४ माघ २०७९, बुधबार ११:२४ मा प्रकाशित

एजेन्सी ।  पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउने पाँच भारतीयमध्ये उत्तर प्रदेशका चारजनाको परिवारलाई प्रदेश सरकारले पाँच–पाँच लाख रूपैयाँ दिने भएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चारै मृतकका परिवारलाई राहतस्वरूप पाँच–पाँच लाख रूपैयाँ दिने घोषणा गरेका हुन्।

युपीका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई प्रतिपरिवार पाँच लाख रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको बताइएको छ । 

काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो। ७२ जना सवार विमान दुर्घटनामा ७१ जनाको शव भेटिएको छ। एकजना अझै बेपत्ता रहकाले खोजीकार्य जारी छ।