साउदीमा पर्वतका सन्तबहादुरलाई मृत्युदण्ड

न्युजलय २० जेठ २०८०, शनिवार १२:४० मा प्रकाशित

काठमाडौँ । पर्वतका सन्तबहादुर पुनलाई साउदीमा गत बिहीबार मृत्युदण्ड दिइएको छ ।

सन्तबहादुरलाई स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी करार गर्दै मृत्युदण्डको फैसला २०५८ जेठमै सुनाएको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन गरेको आन्तरिक मन्त्रालयले उल्लेख गरेको छ । 

सन्तबहादुर २०५४ सालमा साउदी अरेबियाको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको कामका लागि पुगेका थिए । 

जेलका अधिकारीले सन्तबहादुरका मालिकलाई पीडितमार्फत माफी दिन प्रयास गर्न लगाए पनि पीडितले मानेनन् । नेपाली दूतावासले मृतकको समुदायका स्थानीय नेतामार्फत पनि माफीको प्रयास गरे तर सम्भव भएन । केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनै जना सन्तबहादुरलाई माफी दिलाउन प्रयासरत थिए ।

तर, मृत्युदण्ड दिने वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्र पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएन ।