एन्टार्कटिकामा एक्सपर्टले गर्यो नेपाल, हिमालय र जलवायु परिवर्तनबारे छलफल

न्युजलय ९ मङ्सिर २०८१, आइतबार १०:४६ मा प्रकाशित

इटहरी । विद्यार्थीलाई विश्वका विभिन्न देशहरुमा शिक्षाको लागि सहजिकरण गरिरहेको एक्सपर्ट एजुकेसन एण्ड भीसा सर्भिसेसले अन्टार्कटिका पुगेर वातावरण संरक्षणप्रति ऐक्यबद्धता जनाएको छ । 


एक्सपर्टका ७ जना निर्देशकहरुले अन्टार्कटिकामा बैठक बस्दै उक्त प्रतिबद्धता जनाएका हुन् । एक्सपर्ट एजुकेसन एण्ड भीसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट फाउण्डेसनको विशेष बैठक बसेको थियो । जसमा विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनबारे छलफल भएको थियो । बैठकमा नेपाल, हिमालय र जलवायु परिवर्तनबारे छलफल गरिएको थियो ।


वैदेशिक शिक्षाको लागि नेपाललगायत देशमा विश्वासिलो र भरपर्दो सेवा दिँदै आएको एक्सपर्ट समुहले सामाजिक सेवाका लागि सञ्चालनमा ल्याएको फाउण्डेसनले नेपाललगायत विभिन्न मुलुकमा प्राकृतिक विपद् र महामारीका बेला सहयोग पुर्‍याउँदै आएको छ । सोही सन्दर्भमा अन्टार्कटिकामा जलवायु परिवर्तनसम्बन्धि छलफल गर्दै प्रतिबद्धता जनाएको हो ।


फाउण्डेसनले वातावरण संरक्षणमा विश्वव्यापी चासो बढाउनको लागि उक्त कार्यक्रम गरेको एक्सपर्टका प्रशन्न दाहालले जानकारी दिए । उनले जलवायु परिवर्तनको असर भोगिरहेको हिमाली क्षेत्रलाई सहयोग गर्ने सम्बन्धमा बैठकमा छलफल भएको बताए । यस्तो सहयोग जुटाउन सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए । जलवायु परिवर्तनबाट नेपालका हिमालहरु पग्लिरहेकोमा चिन्ता व्यक्त गर्दै प्रकृति र सबै प्राणीको अस्तीत्व रक्षाका लागि जलवायु परिवर्तनको विषयमा विश्वव्यापी छलफल अझ तीव्र हुनुपर्नेमा जोड दिइएको थियो ।


दाहालसहित, भुवन पाण्डे, सरोजकुमार शर्मा, बसन्तराज पोख्रेल, रुपक बर्तौला, टिएन अर्याल र खेम संग्रौला अन्टार्कटिका पुगेका हुन् । उनीहरुसहित जम्मा १३ जना नेपालीहरु टिममा छन् । नोभेम्बर १३ मा त्यहाँ पुगेको टोली नोभेम्बर २६ सम्म रहनेछ । 


एक्सपर्टले अहिले विश्वभरी ६० भन्दा बढी शाखामार्फत् नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायतसहितका देशमा पढ्न जान सहजिकरण गरिरहेको छ । एक्सपर्टको शाखा इटहरी, धरान र विराटनगरमा समेत रहेको छ ।