काठमाडौं । थाइल्याण्डको बैंककबाट उत्तरपूर्वी क्षेत्रमा गइरहेको यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको भने ३० भन्दा बढी घाइते भएका छन्।
दुर्घटना नाखोन रात्चासिमा प्रान्तको सिक्हियो जिल्लामा बुधबार बिहान भएको हो। उबोन रात्चाथानी प्रान्ततर्फ गइरहेको सो रेलको एउटा डब्बामाथि द्रुतगतिका रेलमार्ग निर्माणका लागि प्रयोग हुँदै आएको ठूलो क्रेन खसेर ठोक्किँदा रेल पटरीबाट बाहिर गएको थियो।
स्थानीय प्रहरीका अनुसार क्रेन ढलेसँगै रेलमा आगो समेत लागेको थियो। आगो नियन्त्रणमा लिइसकेको र उद्धारकार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।