काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मेरठमा कोठामा निसासिएर तीन जना नेपालीको मृत्यु भएको छ । मजदुरीका लागि त्यहाँ पुगेका कैलालीको गौरीगंगा नगरपालिका–१, गप्काका करिब ३५ वर्षीय चन्द्रबहादुर भुल, उनकी पत्नी ३२ वर्षीया कुमारी भुल र छोरी चार वर्षीया अञ्जलीको मृत्यु भएको हो ।
चिसोले राति कोठामा कोइला बालेर सुतेका तीनै जनाको धुवाँले निसासिएर मृत्यु भएको बुझिएको मृतक चन्द्रका भाइ नाता पर्ने वीरेन्द्र भुलले बताए । त्यहाँ रहेका नेपालीको सहयोगमा शव ल्याउने तयारी भइरहेको उनले बताए । आफन्तका अनुसार गरिबीका कारण सानै उमेरदेखि भारत पसेका चन्द्रबहादुर ६–७ वर्षयतादेखि मेरठमा एउटा घरमा काम गर्थे । उनले श्रीमती र छोरीलाई पनि सँगै लगेका थिए । यस वर्ष बिदामा दसैँ, तिहार मनाउन आएका उनी तिहारलगत्तै त्यहाँ फर्किएका आफन्तले बताएका छन् । उनीहरू त्यहाँ काम गर्ने घरको तेस्रो तलाको एउटा कोठामा बस्ने गरेको बताइएको छ ।
मृतक आफन्त वीरेन्द्रका अनुसार मृतकको गोप्कास्थित घरमा वृद्ध आमाबुबा, १४ वर्षीय एक छोरा तथा ६ र नौ वर्षीया दुई छोरी छन् । मजदुरीका लागि गएको परिवारको मृत्यु भएपछि गाउँ शोकमग्न छ । जिल्ला प्रहरी कार्यालय कैलालीले भारतमा कैलालीका तीन नेपालीको भारतमा निसासिएर मृत्यु भएको सुनिएको भन्दै घटनाबारे बुझ्ने काम भइरहेको जनाएको छ ।
भारतीय सञ्चारमाध्यम लाइभ हिन्दुस्तान अनलाइनले मेरठ टिपीनगरको शम्भुनगर कोलनीस्थित आलोक वंशलको घरमा काम गर्दै आएका तीनजना नेपाली मजदुरको शनिबार राति निसासिएर मृत्यु भएको जनाएको छ । उक्त अनलाइनका अनुसार वंशल परिवारसहित नयाँ वर्ष मनाउन घरबाहिर गएका थिए । बिहान ४ बजे घर फर्कँदा चन्द्रले ढोका खोलेनन्, ढोका फोडेपछि श्रीमान्–श्रीमती मृत भेटिएका थिए । गम्भीर अवस्थामा भेटिएकी अञ्जलीको उपचारका क्रममा मृत्यु भएको हो ।