सुनसरी । अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधि इटहरीको विश्वआदर्शले जितेको छ । इटहरीमा शनिवार सम्पन्न फाइनल खेलमा नमुना कलेजलाई ५१ रनले पराजित गर्दै विश्वआदर्शले उपाधि जितेको हो ।
प्रतियोगिताको पहिलो संस्करण जितेको विश्वआदर्श गत संस्करणको फाइनलमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँग पराजित बनेको थियो ।
शनिबारको फाइनल खेलमा विश्वआदर्शले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य पछ्याएको नमुना १८ ओभरमा १ सय ७ रनमा समेटियो । नमुनाको लागि बिपन शाहले सर्वाधिक ४७ रन बनाए । राजु विकले १८ र कृष्ण विष्टले १२ रन बनाए ।
विश्वआदर्शका अनिश कुवंरले महत्त्वपूर्ण ४ विकेट लिए । रोहन शाह र समीर तिम्सिनाले २–२ विकेट हात पारे ।
विश्वआदर्शको लागि रोहन शाहले सर्वाधिक ३७ रन बनाउँदा आकाश सर्राफले ३०, समीर तिम्सिनाले २५, आयुष ढुङ्गेलले १३ र रोशन खत्रीले १२ रनको योगदान दिए ।
नमुनाका सुबित मेहताले ३ र राजु विकले २ विकेट हात पारे ।
फाइनल खेलको प्लेयर अफ द म्याच विश्वआदर्शका अनीश कुवंर घोषित भए ।
जितसँगै विश्वआदर्शले नगद २५ हजार पाएको छ भने उपविजेता नमुनाले नगद १५ हजार पाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी विश्वआदर्शका कप्तान भूपाल लुइँटेल, वेस्ट बलर अनीश कुवंर र वेस्ट ब्याटर रोशन खत्री बनेका छन् ।
विजेता तथा उपबिजेतालाई प्रमुख अतिथि इटहरी ९ का वडाध्यक्ष जितेन्द्र थापा, विश्वआदर्शका प्राचार्य गणेश दुलाल, कोसी प्रिमियर लिग विजेता नमुना ब्लाष्टरका मालिक धर्म न्यौपाने लगायतले पुरस्कार वितरण गरे ।
इटहरी आदर्श जाइन्ट्सले पुस १९ गतेदेखि आयोजना गरेको प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेज टिमले प्रतिस्पर्धा गरेका थिए ।