झापामा स्कुल बस दुर्घटनाः एक दर्जन बढी विद्यार्थी घाइते

न्युजलय १७ बैशाख २०८३, बिहिबार ०१:३८ मा प्रकाशित

झापा । झापाको कचनकवल गाउँपालिका–३ मा स्कुल बस दुर्घटना हुँदा एक दर्जन बढी विद्यार्थी घाइते भएका छन् । 

आज बिहान दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेण्डरी स्कुलको बसले घरबाट सडकमा निस्किएको प्र–१–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । 

बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार करिब १८–२० जना विद्यार्थीमध्ये एक दर्जन विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

अधिकांश विद्यार्थीलाई सामान्य चोटपटक लागेको र अवस्था खतरा बाहिर रहेको बताइएको छ । 

दुर्घटनामा परी मोटरसाइकल चालक कचनकवल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिना घाइते भएका छन् ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार भएका छन् भने उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।