काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बरमा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् ।
म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए । हन्टेयर्स चिकेन डोल्स भन्ने सप्लायर्समा काम गर्नेगरी लाख रुपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरूसँग पैसा असुले पनि अहिले शारीरिक र मानसिक यातना दिँदा पनि म्यानपावर र एजेन्टले कुनै सहयोग नगरेको पीडितहरूको सामूहिक खिचिएको भिडियोमा भनिएको छ ।
एजेन्टले आफूलाई सहयोग नगरेको र बाटोमै कम्पनी मालिकले आफूहरुमाथि कुटपिट गरेको भिडियोमा बास्तोलाले बताएका छन् । उनीहरूलाई खान बस्न र सुत्ने स्थानको समेत प्रबन्ध नभएको भिडियोमा देखाएका छन् । आफूहरूलाई उद्धार गरेर सहयोग गर्न उनीहरूले आग्रह गरेका छन् ।
कम्पनीबाट बाहिर निकाली दिएको उनीहरुले गुनासो गरेका छन् ।