काठमाडौ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माका साथै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासित गर्ने निर्णय गरेको छ ।
विशेष महाधिवेशन पक्षधर यी तीन पदाधिकारीलाई बुधबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै कारबाही गरेको हो ।
साथै अन्य सदस्य तथा पदाधिकारीहरूलाई पार्टी काममा फर्कन समेत कांग्रेसले आव्हान गरेको छ । कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिएमा पुनर्विचार हुनसक्ने संस्थापन पक्षको भनाइ छ ।
कारवाही गर्ने निर्णय गरेपनि भृकुटीमण्डपमा गगन–विश्वप्रकाश पक्षले विशेष महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अघि बढाएको छ ।
बहुमत महाधिवेशन प्रतिनिधि आफूसँग रहेको दाबी विशेष महाधिवेशन पक्षधरको छ । सोही आधारमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको छ ।
यता, शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ ।
देउवा–खड्का नेतृत्वको संस्थापन पक्ष र गगन–विश्वप्रकाश नेतृत्वको विशेष महाधिवेशन पक्षबिच अब पार्टीको आधिकारिकता विवाद चर्किने सम्भावना देखिन्छ । चारतारे झण्डा र रुख चुनाव चिन्ह कुन पक्षले लिने भन्ने विवाद सुरु भइसकेको छ । यस्तो अवस्थामा अब निर्वाचन आयोगले पार्टीको विधान र राजनीतिक दल सम्बन्धी कानुनको आधारमा पार्टीको आधिकारिता विवाद निरुपण गर्नेछ ।
यद्यपि, निर्वाचन आयोगले जसको पक्षमा फैसला गरे पनि अर्को पक्ष न्यायिक निरुपणका लागि सर्वोच्च अदालत जान सक्ने विकल्प बाँकी रहन्छ ।