भारतमा लडाकु विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

न्युजलय २५ बैशाख २०८०, सोमबार ०३:१८ मा प्रकाशित

 काठमाण्डौ । भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । 

भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो ।

दुई महिलाको घटनास्थलमै र अर्को एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ५५ वर्षीया लीला देवी, ४५ वर्षीय बाँसो कौर र ५० वर्षीय बान्टो रहेको प्रहरीले जनाएको छ ।

घाइते तीनजनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी स्थापना गरिएको आईएएफले जनाएको छ ।