काठमाडौँ । जापानमा दैनिक उपभोग्य सामग्रीको मूल्य ४१ वर्षयताकै उच्च देखिएको छ । गत महिना प्रमुख उपभोग्य सामग्रीको मूल्य अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढेको बैंक अफ जापान (बीओजे)को तथ्यांक छ । यो संख्या बीओजेको लक्ष्यभन्दा दुईगुणा बढी हो ।
मुद्रास्फीतिमा गिरावट आएपछि दैनिक जीवनयापन सहज बनाउनका लागि जापानको केन्द्रीय बैंकलाई ब्याजदर बढाउने दबाब सृजना गरेको छ । जापानको मुद्रास्फीति सन् १९८१ यताकै उच्च भएको सार्वजनिक सरकारी तथ्यांकले देखाएको हो । खाद्यान्नदेखि इन्धनसम्मको मूल्यमा वृद्धि हुँदा पनि यसै साता बीओजेले आफ्ना लगानीकर्तालाई करिब शून्य ब्याजदरमा कायम गर्ने घोषणा गर्दै सेवाग्राहीलाई आश्चर्यमा पारेको थियो ।
महँगी बढ्दा ब्याजदर पनि बढाउने अन्य मुलुकको चलनलाई तोड्दै जापानले ब्याजदर भने नबढाउने नीति लिएको छ । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानले गत वर्षको तुलनामा ब्याजदर बढाउने अन्य मुलुकको चलनलाई तोडेको हो । जसका कारण अन्य शक्तिशाली मुद्राको तुलनामा जापानी मुद्रा ९येन० कमजोर बनेको थियो ।