एजेन्सी । विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि वर्षा भएको छ ।
सो ठाउँमा दुई दिन वर्षा भएको हो । नासाले उपग्रह मार्फत सहाराको बालुवाबाट बग्ने पानी, पुरातन दरबार र मरुभूमिको वनस्पतिको तस्बिर खिचेको छ ।
मोरक्कोको इरिकी ताल पनि ५० वर्षपछि पूर्ण रूपमा पानीले भरिएको छ । यसअघि सन् १९७४ मा सहारा मरुभूमिमा ६ वर्षको खडेरीपछि पानी परेको थियो जुन पछि बाढीमा परिणत भएको थियो ।
दक्षिण पूर्वी मोरक्कोमा वर्षभरि औसत २५० मिमी भन्दा कम वर्षा हुन्छ । तर, सेप्टेम्बरमा नै पछिल्ला दुई दिनमा धेरै क्षेत्रमा असामान्य वर्षा भएको छ । भारी वर्षाको कारण आएको बाढीले मोरक्को र अल्जेरियामा २० भन्दा बढी मानिसको ज्यान लिएको छ भने किसानहरूको बाली नष्ट गरेको छ ।