भारतको हरियाणामा अविवाहितले मासिक भत्ता पाउने

न्युजलय २३ असार २०८०, शनिवार ०३:२१ मा प्रकाशित

काठमाडौँ । भारतको हरियाणा राज्यमा अविवाहितले मासिक भत्ता पाउने भएका छन्।

हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले प्रान्तका अविवाहित महिला पुरूषलाई मासिक २ हजार ७५० रूपैयाँ भत्ता दिने घोषणा गरेका हुन्।

अविवाहित महिलापुरूष मात्रै होइन पत्नीको मृत्यु भएका विधुर पुरूषले पनि भत्ता पाउने भएका छन्।  

बिबिसीका अनुसार शुक्रबार करनाल जिल्लामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री खट्टरले सो घोषणा गरेका थिए। त्यसका लागि प्रान्त सरकारले सबै तयारी पूरा गरेको पनि उनको भनाइ थियो।

पेन्सन पाउनका लागि केही शर्त राखिएका छन्।

पहिलो, अविवाहित व्यक्तिको उमेर ४५ वर्षमाथि र ६० वर्षभन्दा तल हुनुपर्छ। दोस्रो, त्यस्ता व्यक्तिहरूको वार्षिक आम्दानी १ लाख ८० हजारभन्दा कम हुनुपर्छ।

विधुर पुरूषको हकमा ४० वर्ष पार भइ ६० वर्ष ननाघेको र वार्षिक तीन लाख रूपैयाँ भन्दा कम आम्दानी हुनुपर्ने शर्त राखिएको छ।