टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या झण्डै ८ हजार पुग्यो

न्युजलय २५ माघ २०७९, बुधबार ०७:२० मा प्रकाशित

एजेन्सी । टर्की र सिरियामा गएको भूकम्पमा परेर ज्यान गुमाउने मानिसको संख्या झण्डै आठ हजार पुगेको छ । अहिलेसम्म टर्कीमा ६ हजार र सिरियामा एक हजार ९ सय जनाको ज्यान गएको सीएनएनले जनाएको छ । दुवै देशमा गरेर २५ हजार जनाभन्दा धेरै घाइते भएका छन् ।

टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरिएको छ भने तीन लाख ८० हजारभन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा बसिरहेका छन् ।

टर्कीमा उद्दार र राहतको लागि संसारभरका कयौँ देशले सामग्रीसहित जनशक्ति पठाएका छन् । हराइरहेका मान्छे खोज्ने कुकुर र अत्याधुनिक उपकरणसहितका विमान टर्कीमा अवतरण गरिरहेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् ।

अत्याधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् ।

टर्की र सिरियाको सिमानामा सोमवार विहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैबीच, टर्कीको मूख्य बन्दरगाहमा भइरहेको भीषण आगलागीले अर्को समस्या निम्ताएको छ । बन्दरगाहमा लागेको आगोले सयौँ कन्टेनर जलेका छन् ।