काठमाण्डौ । टर्कीमा सोमबार(आज) बिहान गएको शक्तिशाली भुकम्पले ठूलो धनजनको क्षति गरेको छ। अधिकांश भवनहरू भत्कनुका साथै हालसम्म १० जनाको ज्यान गएको एपीले जनाएको छ।
दक्षिणपूर्वी टर्की र सिरियाको सीमानामा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय क्षति गरेको टर्कीका गृहमन्त्री सुलेमान सोयलुले जानकारी दिए।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धारको टोली पठाएको जानकारी दिँदै भग्नावशेषमा फसेकाको उद्धारलाई तिब्रता दिइएको बताए।
यो क्षेत्रमा कम्तिमा ६ वटा परकम्प गएको थियो। अझै पनि परकम्प आउने क्रम नरोकिएकाले मानिसहरूलाई जोखिमका कारण क्षतिग्रस्त भवनहरूमा प्रवेश नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ।