अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दुई वर्षपछि फर्किए फेसबुक र युट्युबमा

न्युजलय ४ चैत २०७९, शनिवार ०७:४७ मा प्रकाशित

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् । अमेरिकी संसदमा हिंसा भड्काउन प्रेरित गरेको भन्दै फेसबुकले २०२१ को जनवरी ७ मा प्रतिबन्ध लगाएको थियो ।

सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा हुलदंगा हुनुभन्दा केहीसमयअघि अन्तिम पटक फेसबुकमा स्टाटस पोष्ट गरेका ट्रम्पले त्यसपछि आज बिहान ११ सेकेण्डको एउटा भिडियो सहित ‘आई एम ब्याक’ भनेर पोस्ट गरेका छन् ।

फेसबुकसँगै उनी युट्युवमा पनि फर्कीएका छन् । भिडियोमा उनले २०१६ को चुनावी सफलतापछि यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ भनेका छन् । फेसबुक र इन्स्टाको मातृ कम्पनी मेटाले यसअघि जनवरी ७ मै ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । ट्रम्पमाथि ट्विटरमा पनि प्रतिबन्ध लागेकोमा एलन मस्कको स्वामित्वमा आएपछि ट्विटरले प्रतिबन्ध हटाएको छ । तर ट्रम्प अहिलेसम्म ट्विटरमा फर्केका छैनन् ।

फेसबुकमा उनका तीन करोड ४० लाख फलोअर छन् । ट्रम्प र ट्रम्प संलग्न राजनीतिक अभियानमा सन् २०१८ को मे देखि २०२३ को जनवरीसम्म विज्ञापनका लागि मेटालाई १५ करोड ९० लाख डलर तिरेको मेटालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यति रकम संसारका अरु कुनै राजनीतिकर्मीले नतिरेका पनि मेटाले जनाएको छ ।